रौतहटमा बस दुर्घटना, ९ जना घाइते
रौतहट : रौतहटको सदरमुकाम गौरस्थित गौर-चन्द्रपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा नौं जना यात्रु घाइते भएका छन्।
शुक्रबार गौर नगरपालिका-४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो।
घाइते हुनेहरूमा रौतहट, बारा, मकवानपुर र छिमेकी मुलुक भारतका नागरिक रहेका छन्।
दुर्घटनामा रौतहट गढीमाई-१ का ३२ वर्षीय रंजय यादव, बारा कलैयाका ३० वर्षीय नुर महम्मद, गरुडा-४ का २६ वर्षीय निरज कुमार गुप्ता र यमुनामाई-३ का ४२ वर्षीय विनोद बैठा घाइते भएका छन्।
निरज कुमार गुप्तालाई थप उपचारका लागि वीरगञ्ज र विनोद बैठालाई पुरेनवास्थित आँखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, मकवानपुर हेटौडा–४ की ४२ वर्षीया सुनिता केशरी र भारतको गमडिया, शिवहर तथा सितामढीका चार जना घाइते भएका छन्।
घाइते भएका भारतीय नागरिकमा देव नारायण बैठा, सुभम कुमार बैठा, ललन साह र लसिभ सहनी रहेका छन्। अन्य घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाका समयमा बसमा करिब ४० जना यात्रु सवार थिए।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बस चालक चन्द्रपुर नगरपालिका-८ बस्ने २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फागुन ८, २०८२ शुक्रबार १७:१५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।