चितवनमा दुई अस्थायी मतदान केन्द्र थपिने
चितवन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन्।
निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो।
कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
कारागारमा एक सय १५ जना मतदाता रहेका छन्। जिल्लामा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन्। यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन्।कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा दुई स्थल थपिएको छ।
जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् ।
फागुन ८, २०८२ शुक्रबार १५:४५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।