काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै
काभ्रेपलाञ्चोक : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ। यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण एकीन गरी सार्वजनिक गरेका छन्।
काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन्। एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहयोगी कर्मचारी खटाइनेछ। यस्तै एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ ।
जिल्लामा ४०० मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन्। क्षेत्र नं १ को धुलिखेल नगरपालिका-१० स्थित कालिका माध्यमिक विद्यालय शारदाबतासे ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारी चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिने भएका छन्। उक्त केन्द्रमा सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार खटिनेछन्।
यस्तै सोही क्षेत्रको धुलिखेल-९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा भने सहयोगी कर्मचारीबाहेक अन्य कर्मचारी महिला मात्रै खट्नेछन्। यस केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारीमा सीता लामा, गोपिनी खड्का र गीता पुर्कुटीलाई खटाइएको छ।
यसैगरि निर्वाचन क्षेत्र नं २ को धुलिखेलस्थित सञ्जीवनी मावि अड्डाबजार ‘क’ मतदान केन्द्रमा सबै खटिने कर्मचारी महिला मात्रै छन्। मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रीता अधिकारी रहेको यो मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा कविता पाण्डेय, मीना भोमी र सपना श्रेष्ठलाई खटाइएको छ। यस्तै सहयोगी कर्मचारीको रुपमा राधिका बोहरालाई खटाइएको २ नं क्षेत्र निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै सञ्जीवनी माविकै अड्डाबजार ‘ख’ मतदान केन्द्रमा पनि सबै कर्मचारी महिला मात्रै छन्। यो केन्द्रमा मतदान अधिकृतको रुपमा निष्ठा कर्माचार्य र सहायक मतदान अधिकृतको रुपमा अस्मिता पौडेललाई खटाइएको छ। यो केन्द्रमा सहायक कर्मचारीको रुपमा प्रेक्षा खनाल, समीक्षा बसेल र महेश्वरी चन्द तथा सहयोगी कर्मचारीको रुपमा लक्ष्मी हुमागाईंलाई खटाइएको छ।
निर्वाचनमा जिल्लामा दुई हजार ४०० कर्मचारी खटाइने भएको हो।
जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार ४०० मतदान अधिकृतका लागि ५१ उपसचिवस्तरका कर्मचारी, ५४६ शाखा अधिकृतस्तर र १९१ अधिकृत छैठौँ तहका कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिएको छ।
यस्तै चार सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका ८७७, एक हजार दुई सय सहायक कर्मचारी तथा खरिदारस्तरका एक हजार ४६८ र चार सय सहयोगी कर्मचारीका लागि ५०३ कर्मचारीको नामावली सङ्कलन तयार गरिएको छ।
जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ ११ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
फागुन ८, २०८२ शुक्रबार १४:३८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।