बुबाको स्वास्थ्यबारे अपडेट नदिन अस्पताललाई सलमान खानको निर्देशन, प्रेमिकासँग अस्पताल पुगे आमिर खान

बुबाको स्वास्थ्यबारे अपडेट नदिन अस्पताललाई सलमान खानको निर्देशन, प्रेमिकासँग अस्पताल पुगे आमिर खान

मुम्बई : बलिउडका चर्चित अभिनेता सलमान खानका बुबा तथा दिग्गज पटकथा लेखक सलीम खानलाई मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) भएपछि मुम्बईको लीलावती अस्पतालमा छन्।

९० वर्षीय खानलाई मंगलबार बिहान आकस्मिक रूपमा अस्पताल पुर्याइएको थियो। अस्पताल भर्ना भएलगत्तै चिकित्सकहरूले उनको एक शल्यक्रिया (सर्जिकल प्रोसिजर) गरेका छन्। हाल उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ।

बुधबार अस्पतालका डा. जलील पार्करले उनको स्वास्थ्यबारे सञ्चारमाध्यमलाई जानकारी दिएका थिए। तर, छोरा सलमान खानले भने अबदेखि बुबाको स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी सार्वजनिक नगर्न चिकित्सकहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खान र उनको परिवार अस्पतालले सार्वजनिक रूपमा दिएको बयानप्रति असन्तुष्ट छ।

परिवारले स्वास्थ्यलाई निजी मामिला भन्दै यसबारे आधिकारिक जानकारी दिने अधिकार परिवारमै सीमित हुनुपर्ने बताएको छ। अनावश्यक अड्कलबाजी र चर्चाबाट बच्नका लागि परिवारले अस्पताललाई कुनै पनि मेडिकल विवरण साझा नगर्न आग्रह गरेको हो।

सलीम खानको स्वास्थ्य अवस्था बुझ्न बलिउडका धेरै कलाकारहरू अस्पताल पुगिरहेका छन्। बिहीबार आमिर खान आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग अस्पताल पुगेका थिए।

त्यस्तै, अभिनेत्री शिल्पा शेट्टी आफ्नी आमाका साथमा पुगेकी थिइन्। सलीमकी पत्नी हेलन, छोरा अरबाज खान, नाति अरहान खान लगायत परिवारका सदस्यहरू लगातार अस्पतालमा छन्।

अभिनेत्री चित्राङ्गदा सिंहले सञ्चारमाध्यमसँग कुरा गर्दै सलीम खानको स्वास्थ्यमा सुधार भइरहेको र उनी चाँडै निको हुने कामना गरिन्।

डा. जलील पार्करका अनुसार सलीम खानको डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राफी गरिएको छ। यो कुनै ठूलो ब्रेन सर्जरी नभई नसाहरूमा भएको अवरोध पत्ता लगाउन गरिने उच्च गुणस्तरको एक्सरे हो।

हाल उनको अवस्था स्थिर रहेको र केही दिन चिकित्सकको निगरानीमै राखिने अस्पतालले जनाएको छ।

सन् १९३५ नोभेम्बर २४ मा जन्मिएका सलीम खानले सन् १९६० को दशकमा अभिनयबाट आफ्नो करियर सुरू गरेका थिए। तर, पछि उनी लेखनतर्फ मोडिए। बलिउडमा ‘सलीम-जावेद’ (जावेद अख्तरसँगको जोडी) को नामबाट उनी निकै चर्चित छन्।

यस जोडीले शोले, जञ्जीर, दीवार, डोन र सीता और गीता जस्ता अविस्मरणीय र सुपरहिट फिल्महरूको कथा तथा संवाद लेखेका छन्। उनकै कारण बलिउडमा लेखकहरूले पनि कलाकारसरह सम्मान र पहिचान पाउन थालेका हुन्।

फागुन ८, २०८२ शुक्रबार १४:३६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।