जय ट्रफी : बागमतीद्वारा २०७ रनमा इनिङ्स घोषणा, जवाफमा एपीएफको आक्रामक सुरुवात

जय ट्रफी : बागमतीद्वारा २०७ रनमा इनिङ्स घोषणा, जवाफमा एपीएफको आक्रामक सुरुवात

काठमाडौं : जय ट्रफी पुरुष एलिट कपअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भइरहेको दोस्रो खेलको पहिलो दिन बागमती प्रदेशले आफ्नो पहिलो इनिङ्स २०७ रनमा घोषणा गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको बागमतीले ५४.५ ओभर खेल्दै ९ विकेटको क्षतिमा २०७ रन बनाउँदा इनिङ्स समाप्तीको घोषणा (डिक्लियर) गरेको हो।

बागमतीका लागि मध्यक्रमका ब्याटर विवेक मगरले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै, ओपनर आशुतोष घिरैया र तल्लो क्रमका ब्याटर रिजन ढकालले समान ३५-३५ रन जोडे। शुभ कंसाकारले ३४ र सूर्य तामाङले २७ रन बनाए। एक समय ९९ रनमा ६ विकेट गुमाएर संकटमा परेको बागमतीको इनिङ्सलाई तल्लो क्रमका ब्याटरहरूले सम्हालेका थिए।

एपीएफ क्लबका लागि बलिङतर्फ इर्शाद अहमदले कसिलो प्रदर्शन गर्दै १७ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै, कप्तान रोहित पौडेल र युवराज खत्रीले समान २-२ विकेट हात पारे भने अमर रौतेला र अभिषेक गौतमले १-१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफ क्लबले ८ ओभरको समाप्तीमा १ विकेट गुमाएर ५४ रन बनाएको छ। एपीएफका लागि ओपनर आसिफ शेखले आक्रामक सुरुवात गर्दै १९ बलमा ५ चौका र १ छक्काको मद्दतले २८ रन बनाएर आउट भए। उनलाई बागमतीका बिपिन आचार्यले क्याच आउट गराए।

हाल क्रिजमा दीपक बोहरा २० रन र कप्तान रोहित पौडेल ५ रन बनाएर अविजित छन्। एपीएफ अहिले बागमतीभन्दा १५३ रनले पछाडि छ। यो दुई दिवसीय खेल हो।

फागुन ८, २०८२ शुक्रबार १३:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।