मकवानपुरमा आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयाे
मकवानपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा-पम्पलेट हटाउन लगाएको जनाएको छ।
प्रहरीका अनुसार केही सवारी साधनमा दल तथा उम्मेदवारको प्रचारप्रसार सामग्री जडान गरिएको पाइएपछि तत्काल हटाउन निर्देशन दिइएको हो। साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ-बुझाइसमेत गरिएको छ।
यस सम्बन्धमा जानकारी दिँदै प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आग्रह गरे।
प्रहरीले निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन गर्ने कार्यप्रति निगरानी कडा बनाइने र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने स्पष्ट गरेको छ ।
फागुन ८, २०८२ शुक्रबार १३:३५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।