कार्यकर्ताले एमालेको झण्डा जलाएपछि रास्वपाद्वारा भैरहवा र पोखरामा गर्ने भनेको प्रदेशस्तरीय चुनावी सभा स्थगित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन ९ गते रुपन्देहीको भैरहवा र १० गते पोखरामा आयोजना गर्ने भनेको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ।
रुपन्देही-३ का चुनावी कमान्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रबाट तत्कालका लागि कार्यक्रम रोक्न निर्देशन आएपछि सभा स्थगित गरिएको हो।
सभाका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार र मञ्च निर्माणको तयारीसमेत भइरहेको थियो।
पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन’ का कारण सभा स्थगित गरिएको उल्लेख छ।
यद्यपि, बिहीबार दाङमा रास्वपा समर्थकले एमालेको झण्डा जलाएको घटनापछि उत्पन्न परिस्थितिका कारण सभा रोकिएको हो। उक्त घटनाप्रति एमाले कार्यकर्ताहरू आक्रोशित छन् भने झण्डा जलाउनेलाई कारबाहीको माग गरेका छन्।
फागुन ८, २०८२ शुक्रबार १२:३९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।