इरानलाई ट्रम्पको १५ दिनको अल्टिमेटम
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम सम्बन्धी सम्झौता गर्न १० देखि १५ दिनको समयसीमा दिँदै अन्यथा 'अत्यन्त खराब परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।
वासिङ्टन डिसीमा बिहीबार आयोजित ‘बोर्ड अफ पिस’को पहिलो बैठकलाई सम्बोधन गर्दै ट्रम्पले सम्झौता नभए अत्यन्त खराब परिणाम भाेग्नुपर्ने भन्दै इरानमाथि आक्रमणको संकेत गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनले गत जुनमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई आक्रमणपछि इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै आवश्यक परे थप कदम चाल्न सकिने बताएका छन्।
'१०र१५ दिन पर्याप्त हुन्छ। यो समयभित्र सम्झौतामा नआए तेहरानले धेरै खराब परिणाम ब्यहोर्नुपर्नेछ," ट्रम्पले भने।
मंगलबार अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो। इरानले उक्त वार्ता सकारात्मक भएको भनेपनि अमेरिकाले केही महत्त्वपूर्ण विषयमा दुवै पक्षबीच अझै मतभेद कायम रहेको बताएकाे छ।
अमेरिकी सेना इरानमा हमलाका लागि तम्तयार भएर बसेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
इरानले सम्भावित आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी कारबाही गर्ने चेतावनी दिइसकेको छ।
तनाव बढिरहेका बेला दुवै पक्षबीच कूटनीतिक समाधान खोज्ने प्रयास भने जारी रहेको बताइएको छ।
फागुन ८, २०८२ शुक्रबार १२:३१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।