८० वर्षीय रामप्रसादको हिजोका कुरा : दुई छोरा बितेपछि दोस्रो श्रीमती अर्कैसँग हिँडिन् अनि मगर्नी भित्र्याएँ

८० वर्षीय रामप्रसादको हिजोका कुरा : दुई छोरा बितेपछि दोस्रो श्रीमती अर्कैसँग हिँडिन् अनि मगर्नी भित्र्याएँ

वि.सं. २००३ सालमा म्याग्दीको कुहुँमा जन्मिएका रामप्रसाद आचार्यको जीवन कुनै मार्मिक कथाभन्दा कम छैन। पाँच वर्षको उमेरमै उनले बुबालाई गुमाए। बुबाको मृत्युको शोक नसकिँदै एक वर्षभित्रै आमाले पनि संसार छाडिन्। उनलाई रेखदेख गर्ने सेतै फुलेका हजुरबुबा पनि धेरै दिन टिकेनन्।

कलिलै उमेरमा टुहुरो र बेसहारा बनेका रामप्रसाद र उनका दाजुको बाल्यकाल घामपानी, भोकमरी र समाजको तिरस्कारसँग जुध्दै बित्यो। गरिबी यति थियो कि एकसरो फाटेको लुगा फेर्न सक्ने ल्याकत थिएन। टुहुरो र गरिब भएकै कारण उनीहरूलाई गाउँघरका बिहे, व्रतबन्ध र चाडपर्वमा कसैले बोलाउँदैनथे। गाउँमा स्कुल थिएन।

पछि उनका दाजुले बागलुङ गएर अक्षर चिने र गाउँमा पहिलो पटक पढाउन थाले। दाजु मास्टर बनेपछि रामप्रसाद गाउँभरि मास्टरका भाइ भनेर चिनिए, तर घरको सबै जिम्मेवारी सम्हाल्नुपर्दा उनले कहिल्यै अक्षर चिन्न पाएनन्। रामप्रसादको वैवाहिक जीवन पनि उस्तै सङ्घर्षपूर्ण रह्यो। गरिबीका कारण ३२ वर्षसम्म बिहे हुन सकेन। बल्लबल्ल बिहे गरे, तर सन्तान भएनन्।

ज्योतिषको सल्लाहमा दोस्रो बिहे गरे, तर जन्मिएका दुवै छोराको कलिलै उमेरमा मृत्यु भयो र श्रीमती पनि अर्कैसँग हिँडिन्।त्यसपछि उनले तेस्रो बिहे गरे। आज तिनै तेस्रो श्रीमतीबाट जन्मिएका छोराछोरी र नातिनातिनाको मायामा उनी आफ्नो विगतको दुःख बिर्सने प्रयास गरिरहेका छन्।

८० वर्षीय रामप्रसाद आचार्यले आफ्नो बाल्यकाल, तत्कालीन समाज र जीवनयात्राका तीतामीठा अनुभवहरू उकेराको कोलम ‘हिजोका कुरा’लाई यसरी सुनाए:

०००

मेरो जन्म वि.सं. २००३ साल वैशाखमा म्याग्दीको साविक कुहुँ गाविस एवं हालको मंगला गाउँपालिका-१, पैयुँपातामा भएको हो।

म पाँच वर्षको हुँदा वि.सं. २००७ सालतिर बुबा बित्नुभयो। बुबा बितेको एक वर्ष नबित्दै आमाले पनि यो संसार छाड्नुभयो। म र मभन्दा पाँच वर्ष जेठो दाजु थियौँ। हामीलाई रेखदेख गर्ने सेतै फुलेका हजुरबुबा मात्रै हुनुहुन्थ्यो, तर उहाँ पनि केही वर्षपछि बित्नुभयो। त्यसपछि हामी दुई दाजुभाइ पूर्ण रूपमा टुहुरा र बेसहारा भयौँ।

हाम्रो घर त ठूलो थियो, तर खरले छाएको। पानी पर्दा आधाजसो त भित्रै चुहिन्थ्यो। छाना छाउन सक्ने हाम्रो ल्याकत थिएन। जता पानी चुहिँदैन, उतै खाट सार्दै सुत्नुपर्ने बाध्यता थियो।

बुबाआमा नभएपछि कसैले वास्ता गर्दा रहेनछन्। हामीसँग खानलाई पर्याप्त अन्न थिएन, लाउनलाई राम्रो लुगा थिएन। च्यातिएका र फाटेका एकसरो लुगाकै भरमा हिउँद-बर्खा काट्नुपर्थ्यो। किनेर लगाइदिने को नै थियो र?

मलाई अझै सम्झना छ, बाल्यकालमा रात पर्नासाथ मलाई धेरै डर लाग्थ्यो। दाजु कामको खोजीमा वा जुवा खेल्न राति बाहिर निस्कँदा म एक्लै घरमा बस्न मान्दिनथेँ। ‘भुतले खान्छ’ भन्ने डरले म दाजुको पछि-पछि लुक्दै जान्थेँ। एक रात दाजु अर्काको घरमा जुवा खेल्न बस्नुभयो। म त्यहीँ पुगेपछि उहाँले मलाई हप्काएर घर फर्काइदिनुभयो।

राति डराउँदै घर फर्कँदै गर्दा बाटोको एउटा खोल्सामा पुगेपछि मैले सेतो थामजस्तो केही उभिएको देखेँ। म अघि बढ्दा त्यो पनि म सँगसँगै आएजस्तो लाग्यो।

कलिलो उमेर, त्यसै त डराएको म ‘अब यसले मलाई खान्छ’ भनेर डिलमाथिको मकैबारीमा घोप्टो परेर सुतेँ। डरकै कारण म त्यहीँ निदाएछु। कति बेला ब्युँझिएँ थाहा छैन, तर उठेर यताउता हेर्दा त्यो सेतो आकृति देखिनँ। अनि डराउँदै घर आएर सुतेँ।

हाम्रो आम्दानीको स्रोत भनेकै अलिअलि भएको अन्नपात बेच्ने थियो। त्यतिबेला नौ माना दूध दिने लैनो भैँसी १८० रुपैयाँमा पाइन्थ्यो। हामीले एउटा भैँसी त्यही भाउमा बेचेका थियौँ। अलि पछि हामीले ४५० रुपैयाँमा अर्को भैँसी किन्यौँ, जसमा २०० रुपैयाँ उधारो थियो।

पछि त्यो उधारो तिर्न नसक्दा कोदोको ढुकुटी नै बाँधेर बुझाउनुपरेको थियो। त्यस्ता कठिन र अप्ठ्यारा दिनहरू काटेर यहाँसम्म आइपुगेको हुँ। बजार देख्नै पाइएन। तातोपानीमा एकादुई घर थिए, आफ्नै गाउँमा पनि पातलो बस्ती थियो।

‘मास्टरका भाइ’ बनेर चिनिएँ, तर पढ्न पाइनँ
म हुर्कँदै गर्दा गाउँमा स्कुल नै थिएन। म्याग्दी जिल्लामै त्यतिबेला विरलै स्कुल थिए। मेरो दाजुलाई भने बुबाले बागलुङमा एक जना पण्डितकहाँ पढ्न पठाउनुभएको थियो। त्यहाँ बिहान-बेलुका घाँस-दाउरा र घरको काम गरिदिएर दिउँसो घाम लागेको बेला दाजुले अक्षर चिन्नुभएको थियो।

दाजुले अलिअलि पढेको हुनाले गाउँलेहरू मिलेर एउटा स्कुल खोल्ने सल्लाह गरे। सुरुमा त स्कुलको भवन थिएन, बारीका कान्ला र ढिकमा राखेर दाजुले गाउँका केटाकेटीलाई पढाउन थाल्नुभयो।

त्यतिबेला दाजुलाई पढाएबापत गाउँलेले महिनाको एक पाथी कोदो वा मकै दिन्थे। पछि गाउँले मिलेर खरले छाएको एउटा स्कुल बनाए। त्यसपछि दाजुको तलब महिनाको २५ रुपैयाँ पुग्यो।

दाजुले गाउँभरिका केटाकेटी पढाए पनि मैले भने पढ्न पाइनँ। घरको खेतीकिसानी र काममै मेरो समय बित्यो।

दाजु गाउँको पहिलो ‘मास्टर’ भएकाले मलाई सबैले ‘मास्टरको भाइ’ भन्न थाले। आज पनि गाउँमा मलाई रामप्रसादभन्दा 'मास्टरका भाइ' भनेरै चिन्छन्। पछि पञ्चायतकालमा गाउँमा अरू स्कुल खुल्दै गए, तर मेरो पढ्ने उमेर घर्किसकेको थियो।

गरिबीका कारण बिहे र व्रतबन्धमा बोलाउँदैनथे
हामी टुहुरा थियौँ र गरिब पनि। सायद त्यही भएर होला, गाउँघरमा हुने बिहे, व्रतबन्ध वा पूजाआजामा हामीलाई कसैले बोलाउँदैनथे। ‘आओ है’ भनेर कसैले निम्तो दिएको मलाई याद छैन। हाम्रो फाटेको लुगा र दयनीय अवस्था देखेरै मानिसहरू तर्किन्थे।

त्यतिबेला बिहे प्रायः राति हुन्थ्यो। कोही जग्गे बनाएर बिहे गर्थे त कोही भगाएर ल्याउँथे। बालविवाहको चलन निकै थियो। छोरी रजस्वला नहुँदै बिहे गरिदिए धर्म हुन्छ र आमाबाबुको गति राम्रो हुन्छ भन्ने विश्वास थियो। केटीले नमाने पनि आमाबाबुले जबर्जस्ती बिहे गरिदिन्थे।

वि.सं. २०१७ सालमा पञ्चायती व्यवस्था लागू भए पनि हाम्रो गाउँमा त्यसको नराम्रो प्रभाव थिएन। गाउँका प्रधानपञ्च विष्णुबहादुर ठकुरी हुनुहुन्थ्यो, उहाँले राम्रै समाजसेवा गर्नुभयो। पछि गाउँ पञ्चायत टुक्रिएर उप-पञ्चायत बन्दा कृष्णप्रसाद भन्ने प्रधानपञ्च हुनुभयो।

उहाँहरूले गाउँलेमाथि थिचोमिचो गरेको वा पञ्च हौँ भनेर लुटपाट गरेको मैले कहिल्यै देखिनँ। बाहिर मान्छेहरूले पञ्चायतलाई जतिसुकै गाली गरे पनि हाम्रो गाउँको हकमा उहाँहरूको व्यवहार राम्रो नै थियो।

तीनवटा बिहे र सन्तानको वियोग
म टुहुरो र गरिब भएकाले मलाई कसले छोरी दिने? ३२ वर्षको उमेरसम्म मेरो बिहे हुन सकेन। पछि अलिअलि कमाएर ३२ वर्षको उमेरमा बल्ल एउटी पौडेलकी छोरी बिहे गरेँ। तर, जेठी श्रीमतीबाट लामो समयसम्म छोराछोरी भएनन्।

सन्तान नभएपछि हामी ज्योतिषलाई हेराउन गयौँ। ज्योतिषले अनौठो कुरा भने- ‘कि त खरानी घसेर जोगी भएर हिँड्नु, कि त तल्लो जातकी बिहे गर्नु।’ यो सुनेपछि मैले दोस्रो बिहेका रूपमा एउटी क्षेत्रिनी ल्याएँ।

क्षेत्रिनीबाट दुई जना छोरा जन्मिए। तर दैवको लीला, एउटा छोरा १४ वर्षको र अर्को ९ वर्षको हुँदा ६ महिनाको अन्तरमा दुवैको मृत्यु भयो। दुवै छोरा बितेपछि ती दोस्रो श्रीमती पनि अर्कैसँग हिँडिन्।

यति ठूलो बज्रपातपछि मैले सन्तानकै आशमा तेस्रो बिहेका रूपमा एउटी मगरकी छोरी ल्याएँ। उनीबाट भने तीन भाइ छोरा र दुई बहिनी छोरी जन्मिए। तर अझै पनि सन्तान भएकी जेठी श्रीमती मसँगै थिइन्।

विगतका ती दुःख र अभावका दिन सम्झँदा अहिलेको जीवन निकै सु:खद् लाग्छ। अहिले खान-लाउनको कुनै दुःख छैन। छोराछोरी र नातिनातिनाले राम्रोसँग हेरविचार गरेका छन्। अभाव र एक्लोपनबाट गुज्रिएको मेरो जीवन आज भरिपूर्ण छ।

अहिले मलाई बेठीक लाग्ने एउटै कुरा भनेको मेरो स्वास्थ्य हो। उमेर ढल्किएसँगै सुगर र प्रेसरले समातेको छ। नियमित औषधि खानुपर्छ। त्योबाहेक मेरो जीवनमा अहिले कुनै गुनासो छैन। टुहुरोपन र अभावको त्यो अँध्यारो रात काटेर आज म पारिवारिक उज्यालोमा रमाइरहेको छु।

फागुन ८, २०८२ शुक्रबार १२:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।