सप्ताह पुराण सुन्न गएकी महिला जङ्गलमा मृत फेला
रामेछाप : पूराण सुन्न गएकी सिन्धुलीकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। कमलामाई नगरपालिका-५ की ६० वर्षीया सिता कार्की घरदेखि केही दूरीमा रहेको ठूली भीर नजिकको जङ्गलमा मृत अवस्थामा फेला परेकी हुन्।
उनी बिहीबार रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराण सुन्न घरबाट बिहान निस्किएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवार र आफन्तले स्थानीयको सहयोगमा खोजी सुरु गरेका थिए।
खोजतलासका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको ठूली भीर नजिकको जङ्गल क्षेत्रमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
धार्मिक कार्यक्रममा गएकी महिलाको अकस्मात् मृत्यु भएपछि स्थानीयवासीले घटनाको कारण सार्वजनिक गर्न माग गरेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जनाएको छ।
फागुन ८, २०८२ शुक्रबार ११:२३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।