भारत कट्टर हिन्दुत्वको आडमा राज्य संरक्षित आतंकवाद फैलाउने प्रमुख देश बन्यो : पाकिस्तान
इस्लामावाद : पाकिस्तानको विदेश मन्त्रालयले वर्तमान भारत सरकारले कट्टर हिन्दुत्ववादी विचारधाराको आडमा ‘राज्य संरक्षित आतंकवाद’लाई प्रश्रय दिएको आरोप लगाएको छ।
अमेरिकी अदालतमा भारतीय नागरिक निखिल गुप्ताले हत्याको षड्यन्त्रमा आफ्नो संलग्नता स्वीकार गरेपछि पाकिस्तानको यस्तो कडा प्रतिक्रिया आएको हो।
बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाबीले भने, ‘विदेशी भूमिमा भएका हत्याका घटनामा भारतको संलग्नताका बारेमा पाकिस्तानले लगातार आवाज उठाउँदै आएको थियो, जुन अहिले अमेरिकासहित विश्वका धेरै देशमा उजागर हुँदैछ।’
प्रवक्ता अन्दाबीले भारतले कट्टर हिन्दुत्वको नाममा राज्यकै तर्फबाट आतंकवादलाई बढवा दिइरहेको दाबी गर्दै यसलाई ‘चिन्ताको विषय’ बताएका छन्। उनले भारतले सीमा पारबाट पाकिस्तानमा आतंकवादी समूहहरू सञ्चालन गरिरहेको र त्यसको पुख्ता प्रमाण आफूहरूसँग रहेको समेत बताए।
५४ वर्षीय भारतीय नागरिक निखिल गुप्ताले गत हप्ता न्युयोर्कको म्यानह्याटनस्थित सङ्घीय अदालतमा शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने असफल योजनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए।
सन् २०२३ मा रचिएको उक्त हत्याको योजनामा गुप्ताले सुपारी दिएर हत्या गर्ने षड्यन्त्र र सम्पत्ति शुद्धीकरणका मुद्दामा आफू दोषी रहेको अदालतमा स्वीकारेका हुन्। सोही विषयलाई लिएर पाकिस्तानले भारतको वर्तमान कार्यशैली र विचारधारामाथि प्रश्न उठाएको हो।
फागुन ८, २०८२ शुक्रबार ०८:२७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।