एमालेको घोषणापत्र : 'स्टन्ट होइन, यथार्थपरक विकास'को दाबी
काठमाडौं : एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली: राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरे।
एमालेले आगामी पाँच वर्षमा मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षभित्र २०० खर्ब रुपैयाँ पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ।
घोषणापत्रमा ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ। एमालेले सार्वजनिक संस्थानको कार्यकुशलता वृद्धि गर्ने, पुँजीगत खर्च कटौती गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउने र राष्ट्रिय प्राथमिकताका आयोजनामा मात्र वैदेशिक ऋण लिने नीति सार्वजनिक गरेको छ।
एमाले नेतृत्वको सरकार गठन भएमा पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयनमा लैजाने गरी ११ वटा मुख्य प्राथमिकता निर्धारण गरिएका छन्।
१. युवालाई निःशुल्क डेटा : १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराइने।
२. स्टार्टअपलाई डलर कार्ड : युवा उद्यमीलाई अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड सुविधा दिइने।
३. वैदेशिक रोजगारीमा रहेकालाई प्रोत्साहन : विदेशबाट रेमिट्यान्स पठाउने श्रमिकको खातामा वार्षिक ५ हजार रुपैयाँ थप गरिदिने र उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने।
४. विद्यार्थीलाई निर्ब्याजी ऋण : प्राविधिक उच्च शिक्षाका लागि विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गर्ने।
५. निःशुल्क प्याड र दिवा खाजा : विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने।
६. श्रमिकको पारिश्रमिक वृद्धि : श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र सबैलाई सामाजिक सुरक्षामा समेट्ने।
७. शिक्षकको मर्यादाक्रम : शिक्षकहरूको मर्यादाक्रम तोक्ने र निजी तथा सामुदायिक विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्ने।
८. स्वास्थ्य स्वयंसेविकालाई भत्ता : स्वास्थ्य स्वयंसेविकाको वार्षिक प्रोत्साहन भत्ता २० हजार पुर्याउने।
९. महिला उद्यमशीलता : उद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने र गर्भवती महिलाका लागि ५ लाखको निःशुल्क जीवन बीमा तथा २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता उपलब्ध गराउने।
१०. ऋण मिनाहा : गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले २०८२ भदौसम्म बैंकबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने।
११. सुरक्षाकर्मीको सम्मान : बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको पेशागत मर्यादा र कल्याण सुनिश्चित गर्ने।
ओलीले एमाले लोकप्रियतावाद वा स्टन्टमा नभई यथार्थपरक विकासमा केन्द्रित हुने दाबी गरे। उनले भने, “एमाले भत्काउने र जलाउने नभई बनाउने सङ्कल्पका साथ आएको छ। विगतका अनुभव र अभ्यासका आधारमा हामी मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्नेछौं।”
ओलीले एमाले स्वाधीनता र राष्ट्रियताको पक्षमा सधैँ दृढ रहने स्पष्ट पार्दै विगतमा सरकारमा रहँदा सुरु भएका तर पूरा हुन बाँकी सुशासन, विकास र सामाजिक न्यायका योजनाहरूलाई पूर्णता दिन पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए। घोषणापत्रमा तत्काल गर्ने ११ कामबाहेक ५ आधारभूत काम र २५ वटा दीर्घकालीन सङ्कल्पहरू समेत समावेश गरिएको छ। एमालेले सूचना प्रविधि क्षेत्रमार्फत १० लाख युवालाई स्वरोजगार बनाउने लक्ष्य समेत राखेको छ।
फागुन ७, २०८२ बिहीबार १५:२७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।