इन्जिनियर यादवको हत्यारा पक्राउको माग राख्दै सिराहामा सडक जाम, मागे गृहमन्त्रीको राजीनामा
जनकपूरधाम : सब इन्जिनियर प्रमोदकुमार यादवको हत्यारा पक्राउ नपरेकाे भन्दै स्थानीयहरूले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत सब इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको चार दिन बित्दा पनि आरोपी पक्राउ नपरेकाे भन्दै स्थानीयहरूले सडक जाम गरेका हुन्।
यादवको गृहजिल्लामा स्थानीयहरूले सडक जाम गर्दै महेन्द्र राजमार्ग केही समयका लागि अवरुद्ध पारे। उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको पूर्ण छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीले घटनामा संलग्न अपराधीको सुराक पनि पत्ता लगाउन नसकेकाे भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागे। न्याय नपाए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
प्रहरीले घटनाकाे अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएकाे छ।
आइतबार राति सब इन्जिनियर यादवलाई अज्ञात व्यक्तिले कोठाबाहिर बोलाएर गोली प्रहार गरी हत्या गरेका थिए।
फागुन ७, २०८२ बिहीबार १४:२९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।