मत सर्वेक्षण नगर्न आयोगको आग्रह, आचारसंहिता उल्लङ्घन गरे कारबाही गरिने
काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन अवधिमा कुनै पनि प्रकारका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। निर्वाचन आचारसंहिताले मत सर्वेक्षण निषेध गरेको उल्लेख गर्दै उनले उल्लङ्घन भए कानुनी कारबाही गरिने बताए।
दशौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोग नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका बेला सत्य समाचारलाई झुट र झुटलाई सत्यका रूपमा प्रस्तुत गर्ने जोखिम रहने भएकाले सञ्चारमाध्यम तथा सरोकारवालालाई सचेत रहन आग्रह गरे।
“राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उनले भने।
उनले मतदातालाई कुनै दबाब वा प्रभावमा नपरी योग्य प्रतिनिधि चयन गर्न आह्वान गर्दै निर्वाचन सुरक्षासम्बन्धी नीति तथा रणनीति तय गर्न सुरक्षा निकायसँग बैठक भइरहेको जानकारी दिए। निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरे जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत कारबाही गरिने पनि उनले स्पष्ट पारे।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतदान अधिकृत नियुक्ति तथा तालिम सञ्चालन भइरहेको जानकारी दिए। देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
निर्वाचनलाई पारदर्शी बनाउन यसपटक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था समेत गरिएको आयोगले जनाएको छ।
फागुन ७, २०८२ बिहीबार १३:४५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।