हराएका ५२ दुईपाङ्ग्रे सवारी ट्राफिक प्रहरीले धनीलाई बुझायो
काठमाडाैं : हराएका तथा चोरी भएका ५२ वटा दुईपाङ्ग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बिहीबार आयोजना गरेको कार्यक्रममा सवारी साधन हस्तान्तरण गरिएको हो।
कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार उपत्यकाका विभिन्न स्थानबाट फरक–फरक समयमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई बुझाइएको हो।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३३९ थान स्कुटर तथा मोटरसाइकल फेला पारेर धनीलाई बुझाएको छ। हालसम्म एक हजार पाँच सय ३१ वटा स्कुटर तथा मोटरसाइकल चाेरीका निवेदन ट्राफिक प्रहरीमा दर्ता भएका छन्।
निवेदनको संख्या उच्च रहेकाले अझै ठूलो संख्यामा हराएका सवारी साधन खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
फागुन ७, २०८२ बिहीबार १३:०४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।