प्रजातन्त्रको उत्सव : तस्बिरमा टुँडिखेलको रौनक (फोटो फिचर)
काठमाडौं : २००७ साल फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा बिहीबार ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।
काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरी यस ऐतिहासिक दिनलाई भव्यताका साथ स्मरण गरियो।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, सुरक्षा निकायको मार्च पास र प्रधानमन्त्रीको सम्बोधन मुख्य आकर्षण रहे।
टुँडिखेलको मैदानमा विभिन्न जातजातिका भेषभूषामा सजिएका कलाकारहरूले नेपालको बहुसांस्कृतिक पहिचान झल्काएका थिए।
हातमा राष्ट्रिय झण्डा बोकेर थारु, नेवार र अन्य समुदायका कलाकारहरूले प्रजातन्त्रको खुसीयालीमा नृत्य प्रस्तुत गरे।

समारोहको बीचमा हेलिकप्टरले ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८२’ लेखिएको ब्यानर प्रदर्शन गर्दै टुँडिखेलमा रङ्गीचङ्गी पुष्पवृष्टि गरेको थियो।

उपत्यकाका विभिन्न सांस्कृतिक समूहहरूले धिमे, बाँसुरी र परम्परागत बाजागाजाका साथमा र्याली प्रस्तुत गरेका थिए। पृष्ठभूमिमा ठडिएको प्रजातन्त्र दिवसको बोर्डले उत्सवको ओझ थप स्पष्ट पारेको थियो।

नेपालको प्राचीन संस्कृति झल्काउने लाखे तथा विभिन्न देवदेवीका मुकुण्डो लगाएका कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्दै प्रजातन्त्रको उत्सवमा रौनकता थपे।


विशेष मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले समारोहको प्रत्यक्ष अवलोकन गरे। राष्ट्रपति पौडेलले सेनाको सम्मान सलामी ग्रहण गरेका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न टुकडीहरूले मार्च पास र व्यायाम प्रदर्शन गरेका थिए। विशेषगरी महिला सुरक्षाकर्मीहरूको मार्च पास र विशेष कार्य दल (एसटीएफ)को जंगी उपस्थितिले राज्यको सुरक्षा सबलता प्रदर्शन गरेको थियो।


द्वन्द्व र आन्दोलनका घाउहरू बिर्सिएर शान्ति र स्थिरताको बाटोमा मुलुक अघि बढेको सन्देश दिन सुरक्षाकर्मीहरूले आकाशमा शान्तिका प्रतीक सेता परेवाहरू उडाएका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र अब नागरिकको भान्छा र जीवनशैलीमा झल्कनुपर्ने बताइन्। उनले जेनजी युवाहरूको आकांक्षा र आगामी निर्वाचनको महत्त्वमाथि प्रकाश पारे।


फागुन ७, २०८२ बिहीबार १२:१५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।