प्रजातन्त्रको असली मानक नागरिकको मुहारमा झल्किने मुस्कान र निस्फिक्री निन्द्रा हो : प्रधानमन्त्री कार्की

प्रजातन्त्रको असली मानक नागरिकको मुहारमा झल्किने मुस्कान र निस्फिक्री निन्द्रा हो : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रलाई केवल शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई नागरिकको जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिएकी छन्।

७६औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको भान्छा, शिक्षा र स्वास्थ्य सेवामा देखिनुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनको ठूलो हिस्सा युवा असन्तोष र गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनमा केन्द्रित गरिन्।

२००७ सालदेखि २०८२ सालसम्म पटक-पटक जनता सडकमा उत्रिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने भन्दै उनले भनिन्, ‘हामीले संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गर्न चाहेनौँ। संरचनामा असमानता जोगाइराख्ने र एउटै वर्गले सत्तामा हालीमुहाली गरिरहने प्रवृत्तिकै कारण विद्रोह जन्मिएको हो।’

भदौको आन्दोलन भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको ‘नैतिक क्रोध’ भएको टिप्पणी गर्दै उहाँले युवाहरूको आवाजलाई दबाएर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्ने स्पष्ट पारिन्।

प्रजातन्त्रलाई आदर्श कुराका रूपमा मात्र सीमित राख्न नहुने तर्क गर्दै प्रधानमन्त्रीले भनिन्, ‘यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ। बिरामी परेर अस्पतालको बिल तिर्न नसक्दा वा पैसाकै कारण छोराछोरीलाई शिक्षा दिन नसक्दा नागरिकलाई कुनै पनि वाद वा तन्त्रले छुन सक्दैन।’

उनले प्रजातन्त्रको असली मानक नागरिकको मुहारमा झल्किने मुस्कान र निस्फिक्री निद्रा भएको बताइन्।

​​​​​​आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका बारेमा चर्चा गर्दै प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनेमा आश्वस्त पारिन्। ‘यो निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजानेछ’, उनले भनिन्।

मुलुकको प्रमुख चुनौती भ्रष्टाचार, दण्डहीनता र सीमित वर्गको स्रोतमाथिको एकाधिकार रहेको औँल्याउँदै उनले भनिन्, ‘हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन् । यदि शासकहरूले युवालाई अपमान गरिरहे भने फेरि पनि विद्रोह हुनेछ।’

भदौको आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेको उनको दाबी थियो। असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको सबल वातावरण बनाउनु सरकारको प्राथमिक कार्यादेश रहेको उनले बताइन्।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखसहित विशिष्ट पदाधिकारीहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

फागुन ७, २०८२ बिहीबार ११:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।