जर्सी होटलमै बिर्सिएपछि सिराजको जर्सीमा देखिए अभिषेक शर्मा, तर भए शून्यमै आउट

जर्सी होटलमै बिर्सिएपछि सिराजको जर्सीमा देखिए अभिषेक शर्मा, तर भए शून्यमै आउट

काठमाडौं : टी-२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा भारतीय ओपनर अभिषेक शर्मा एउटा अनौठो कारणले चर्चामा रहे।

उनी मैदानमा ब्याटिङ गर्न आउँदा आफ्नो नभई साथी मोहम्मद सिराजको जर्सी लगाएर आएका थिए। सुरूमा उनी अर्शदीप सिंहको जर्सी लगाएको देखिएका थिए, तर पछि अन्तिम समयमा सिराजको जर्सी फेरेर क्रिजमा पुगे।

खेलको क्रममा कमेन्टेटरहरू नासिर हुसेन र सुनिल गावस्करले अभिषेकले आफ्नो जर्सी होटेलमै बिर्सिएका कारण अत्तालिएर साथीको जर्सी लगाउनुपरेको बताएका थिए।

सामाजिक सञ्जालमा भने प्रशंसकहरूले फरक लख काटेका थिए। पाकिस्तान र अमेरिकाविरुद्धको खेलमा पनि शून्यमा आउट भएका अभिषेकले आफ्नो ‘भाग्य’ बदल्न भन्दै जर्सी फेरेको हुनसक्ने अनुमान धेरैले गरे। तर, जर्सी फेरे पनि उनको भाग्य भने फेरिएन।

नेदरल्याण्ड्सका स्पिनर आर्यन दत्तले उनलाई लगातार तेस्रो पटक शून्यमै पभेलियन फर्काइदिए। दत्तले चलाखीपूर्ण तरिकाले उनलाई हात खोल्ने मौका दिएनन् र एउटा तीव्र गतिको बलमा बोल्ड गरे। यो विकेट ठ्याक्कै पाकिस्तानले उनलाई आउट गराउन बुनेको योजना जस्तै थियो।

जारी विश्वकपमा चार वटा खेल खेलेका अभिषेक तीन वटा खेलमा शून्यमा आउट भएका छन्। तर, अभिषेक छिटै आउट भए पनि भारतले खेलमा उत्कृष्ट पुनरागमन गरिरहेको छ।

बुधबारको खेलमा शिवम् दुबेको विष्फोटक अर्धशतक र अन्तिम ओभरहरूमा हार्दिक पाण्ड्याको सानदार ब्याटिङको मद्दतले भारतले १९३ रनको बलियो योगफल तयार पार्यो। 

१९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले कडा टक्कर दिए पनि २० ओभरमा १७६ रन मात्र बनाउन सक्यो। भारतले १७ रनको जित हात पार्दै समूह चरणको यात्रा सुखद रूपमा टुङ्ग्याएको छ।

फागुन ७, २०८२ बिहीबार ११:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।