देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भभागका एकदुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषिकर्मलगायत अन्य दैनिक गतिविधिमा संग्लन सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
फागुन ७, २०८२ बिहीबार ०७:१८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।