चुनावी प्रतिज्ञामाथि बिहीबार नागरिकसँग सभापति गगनको प्रश्नोत्तर
काठमाडौं : नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगन थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए।
भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देश विदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका हुन्। थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।
उनले भने, “कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञा पत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ।”
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।
कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ थापाले दिने व्यवस्था मिलाइएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।
प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन्। नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्षरूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ।
फागुन ६, २०८२ बुधबार २१:२३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।