लोकतन्त्रको स्पेस हाइज्याक भयो, पपुलिजमबाट देश जोगाऔं : गगन थापा

लोकतन्त्रको स्पेस हाइज्याक भयो, पपुलिजमबाट देश जोगाऔं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन्।

बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्व लोकतन्त्र पनि पपुलिजमको सिकार भएको उल्लेख गर्दै नेपाललाई पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताए।

थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे। उनले भने, "अहिले एक सय एक परिपक्व लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ। एउटा छाल जस्तो आएको छ। त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौं ? हाम्रो लोकतन्त्र त्यति परिपक्व पनि छैन।"

थापाले अगाडि थपे, "हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरू छन्। एउटा लोकतन्त्र परिपक्व भइसकेको संस्थाहरू बनेको ठाउँमा पपुलिजम ५-६ महिनामा आउँछ त्यो ढल्छ। संस्थाहरू बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौं ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नुपर्छ।"

त्यस्तै उनले गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको धारणा राखे।

उनले भने, "लोकतन्त्रको स्पेस हाइज्याक भएको छ। हेर्दा सामान्य लाग्ने गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो। कांग्रेसले १६५ मा नै कांग्रेको उम्मेदवार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ।"

फागुन ६, २०८२ बुधबार १५:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।