चुनावको बहानामा हलबाट उतारियो ‘बिगुल’, ‘बुकुरो’ र ‘शिवांश’

चुनावको बहानामा हलबाट उतारियो ‘बिगुल’, ‘बुकुरो’ र ‘शिवांश’

काठमाडौं : फागुन १ गतेबाट प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘बिगुल’, ‘श्री बुकुरो : द कलिङ होम’ र ‘शिवांश : च्याप्टर वान’ ले हलबाट आफ्नो प्रदर्शन स्थगित गरेका छन्।

दर्शकको न्यून उपस्थिति र हलवालाले शो घटाएको भन्दै निर्माण पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको राजनीतिक माहोललाई कारण देखाउँदै फिल्म उतारेका हुन्।

हिजो बिहानसम्म ‘बुकुरो’का दुई शो बाँकी थिए भने ‘बिगुल’का शोहरू घटेर ३५ को हाराहारीमा पुगेका थिए। आजबाट ‘बिगुल’ सिमराको पशुपति डिजिटल सिनेमामा तीन शोमा मात्र सीमित छ भने अन्यत्र यसको प्रदर्शन लगभग ठप्प छ।

निर्माण टिमले निर्वाचनको माहोलका कारण फिल्मले अपेक्षित दर्शक नपाएको तर्क गरेको छ। प्रदर्शन स्थगित गरेको ‘बिगुल’ले अर्को मिति तोकेको छैन भने ‘श्री बुकुरो’ आगामी वैशाख १८ गतेबाट पुनः प्रदर्शनमा आउने निर्माण पक्षले विज्ञप्ति मार्फत जनाएको छ।

यस्तै, पौराणिक र आधुनिक रहस्य समेटिएको फिल्म ‘शिवांश’ ले पनि उपयुक्त शो नपाएको भन्दै बुधबार विज्ञप्ति जारी गरी प्रदर्शन रोक्ने निर्णय गरेको छ।

यी तीन फिल्म हलबाट उत्रिएपछि चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ लाई भने ठूलो राहत मिलेको छ।

गत शनिबारसम्म ८ करोड रुपैयाँभन्दा बढीको ‘ग्रस व्यापार’ गरिसकेको यो फिल्मले अन्य फिल्म उत्रिएसँगै थप शोहरू पाएको छ। हलमा अहिले ‘आ बाट आमा’ सँगै ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शन भइरहेका छन्।

फिल्म वृत्तमा यी फिल्महरू व्यवसायिक रूपमा असफल हुनुमा कमजोर पब्लिसिटीलाई मुख्य कारण मानिएको छ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’को कथा र पटकथा बलियो भए पनि निर्माण पक्षले दर्शकलाई हलसम्म तान्न सकेन। बेनिशा हमाल, नरेन खड्का र विनोद न्यौपानेको मुख्य भूमिका रहेको यो फिल्ममा कांग्रेस नेता दिनेश कोइरालाको लगानी रहेको छ।

त्यस्तै, सुदीप भुपाल सिंहको निर्देशनमा बनेको ‘श्री बुकुरो : द कलिङ होम’ले पनि भिन्न कथा शैली र मौलिकता प्रस्तुत गरेको थियो।

वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य अभिनय रहेको यो फिल्मले एउटा घर र परिवारको खुसीको कथा भन्छ। तर, कमजोर प्रचारप्रसारका कारण यो फिल्मको विषयमा दर्शकहरू खासै जानकार देखिएनन्।

पौराणिक मान्यतामा आधारित ‘शिवांश’को अवस्था पनि उस्तै रह्यो। प्रवीण खतिवडा र तेज गिरी जस्ता चल्तीका कलाकार भए पनि दर्शकले फिल्म लागेको र उत्रेको पत्तै पाएनन्।

फागुन ६, २०८२ बुधबार १२:३२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।