इमरान खानलाई मानवीय व्यवहार गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई सुनिल गावस्कर र कपिल देवसहित १४ क्रिकेटरको पत्र

इमरान खानलाई मानवीय व्यवहार गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई सुनिल गावस्कर र कपिल देवसहित १४ क्रिकेटरको पत्र

एजेन्सी : विश्वका १४ प्रख्यात क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको कारागारभित्रको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तान सरकारलाई एक विशेष पत्र लेखेका छन्।

खानको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र उनले उचित उपचार नपाएको रिपोर्ट बाहिरिएपछि क्रिकेट जगतका हस्तीहरूले उनको मानवीय र स्वास्थ्य अवस्था सुधारका लागि अपील गरेका हुन्।

अष्ट्रेलियाका खेलाडीहरू ग्रेग च्यापल, एलन बोर्डर, इयान च्यापल, स्टिभ वा, किम ह्युज र बेलिन्डा क्लार्कले यस अपीलमा हस्ताक्षर गरेका छन्।

उनीहरूलाई साथ दिँदै भारतका दिग्गज क्रिकेटरहरू सुनिल गावस्कर र कपिल देव, इंग्ल्याण्डका माइक एथर्टन र नासिर हुसेन तथा वेष्ट इन्डिजका क्लाइभ लोयड लगायतका पूर्व कप्तानहरूले पनि यो पत्रमा ऐक्यबद्धता जनाएका छन्।

‘कोड स्पोर्ट्स’का अनुसार ती क्रिकेट हस्तीहरूले पठाएको पत्रमा भनिएको छ, ‘हामी हाम्रा राष्ट्रिय टोलीका पूर्व कप्तानहरू इमरान खानको स्वास्थ्य र कारागारको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ। इमरान खान विश्व क्रिकेटका एक गौरवशाली व्यक्तित्व हुन्।’

पत्रमा सन् १९९२ को क्रिकेट विश्वकपमा पाकिस्तानलाई ऐतिहासिक उपाधि दिलाउन खानले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको छ।

क्रिकेटरहरूले भनेका छन्, ‘हामीमध्ये धेरैले उनीसँग प्रतिस्पर्धा गर्यौँ, मैदान साझा गर्यौँ र कतिपयले उनलाई आदर्श मानेर हुर्कियौँ। उनी खेल जगतले देखेका उत्कृष्ट अलराउन्डर र कप्तानमध्ये एक हुन्।’

विश्वका क्रिकेट हस्तीहरूले पाकिस्तान सरकारसँग खानलाई उनले रोजेको विशेषज्ञ डाक्टरबाट तत्काल र उचित उपचारको व्यवस्था मिलाउन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मर्यादित जेलमा राखी परिवारका सदस्यहरूसँग नियमित भेटघाट गर्न दिन र  बिना कुनै अवरोध उनलाई निष्पक्ष र पारदर्शी कानुनी प्रक्रियामा पहुँच दिन समेत माग गरेका छन्।

पत्रको अन्त्यमा भनिएको छ, ‘क्रिकेटले सधैँ देशहरूबीच पुलको काम गरेको छ। खेलको प्रतिस्पर्धा मैदानमा सकिए पनि सम्मान सधैँ जीवित रहन्छ। हामी कुनै राजनीतिक उद्देश्यले नभई मानवीय र खेल भावनाका आधारमा यो आग्रह गरिरहेका छौँ।’

यसका अलावा द इन्डियन एक्सप्रेससँगको कुराकानीमा सुनिल गावस्करले इमरान खानलाई मानवीय व्यवहार गरिनुपर्नेमा जोड दिएका छन्।

‘ग्रेग च्यापेलले अन्य पूर्व कप्तानहरूसँगै म पनि अपीलमा हस्ताक्षर गर्छु कि भनेर सोध्दै सन्देश पठाए र मैले तुरुन्तै सहमति जनाएँ,’ गावस्करले भने, ‘म इमरानलाई १७ वर्षको उमेरदेखि नै चिन्छु जब भारतले ओभलमा टेस्ट शृङ्खला जितेपछि वोस्टरमा खेलिरहेको थियो। त्यतिबेला उनी वोस्टरशायरको लागि विदेशी खेलाडीको रूपमा छनोट हुन खोजिरहेका थिए। त्यहाँ राजनीतिक भिन्नताहरू जे भए पनि, हामी विश्वास गर्छौं कि उनको मानवीय तरिकाले हेरचाह गरिनुपर्छ र उचित चिकित्सा हेरचाह दिइनुपर्छ।’

​​​​​​

सन् २०२३ को अन्त्यदेखि जेलमा रहेका इमरान खानलाई भ्रष्टाचार र जग्गा हिनामिना लगायतका विभिन्न मुद्दामा दोषी ठहर गरिएको छ। उनलाई कुल ३१ वर्षको जेल सजाय सुनाइएको छ। प्रधानमन्त्री पदबाट हटेपछि उनी निरन्तर कानुनी र राजनीतिक दबाबमा रहँदै आएका छन्।

फागुन ६, २०८२ बुधबार ११:००:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।