मकवानपुरमा माछा मार्ने क्रममा बेहोस भएका मण्डल प्रजाको मृत्यु
मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरी रामडाँडामा माछा मार्ने क्रममा बेहोस भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार बिहान करिब ११:३० बजे स्थानीय ४२ वर्षीय राम बहादुर तामाङको माछा पोखरीमा जाल हान्ने क्रममा ४३ वर्षीय मण्डल प्रजा एक्कासी बेहोस भई जमिनमा ढलेका थिए।
माछा मार्न जाल हाल्दा ‘ब्लड प्रेसर’ बढेर उनी ढलेको प्रारम्भिक अनुमान गरिएको छ।
बेहोस भएका प्रजालाई तत्काल उपचारका लागि सरकारी अस्पताल भरतपुर, चितवन लगिएकोमा उपचारकै क्रममा दिउँसो १:०० बजे उनको मृत्यु भएको हो।
अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको थियो।
घटनाको थप अनुसन्धान तथा मुचुल्काका लागि प्रहरी चौकी सुनाचुरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजराम पौडेल र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा ‘सोको’ टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेपछि शवलाई पोस्टमार्टमका लागि साँझ ५:३० बजे हेटौँडा अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन ६, २०८२ बुधबार ०९:५७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।