आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

काठमाडौं :  शेर्पा समुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्।

भोट बर्मेली भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हुन्छ। त्यसैले शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्ष फेरिएको दिनका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्रमास गणना विधिअनुसार फागुन शुक्ल पक्ष प्रतिपदाका दिन यो पर्व मनाउने गर्दछन्।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने परम्परा छ।

यस दिन नौ प्रकारका अन्न मिसाएर तयार पारिएको विशेष परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आफन्तजनसँग शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाहरूबाट आशीर्वाद लिने, र ‘खाप्से’, ‘डेशिल’ लगायतका परिकारको स्वाद लिँदै परिवारसँग रमाइलो गर्ने चलन छ।

साथै, स्याब्रु नृत्य र तुङ्गना (डम्याङ) को मधुर धुनले ल्होसारको रौनक अझ बढाउने गर्दछ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उल्लास सञ्चार गर्ने विश्वास गरिन्छ।

ग्याल्पो ल्होसारले आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावनालाई सुदृढ बनाउँदै पारिवारिक एवं सामाजिक सम्बन्धलाई थप घनिष्ठ बनाउन मद्दत पुर्याउने विश्वास लिइएको छ।

फागुन ६, २०८२ बुधबार ०८:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।