उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागको मौसममा बदली आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने लुम्बिनीसहित सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली हुनेछ। देशका अन्य भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। यी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका केही स्थानमा राति पनि तुवाँलो लाग्न सक्नेछ।

वर्षा, हिमपात र हुस्सुका कारण जनजीवन प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

फागुन ६, २०८२ बुधबार ०७:३४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।