दिपेन्द्रको इनिङले नतिजा बदल्यो, वानखेडेको माहोल अद्भुत थियो : स्कटल्यान्डका कप्तान

दिपेन्द्रको इनिङले नतिजा बदल्यो, वानखेडेको माहोल अद्भुत थियो : स्कटल्यान्डका कप्तान

काठमाडौं : टी-२० विश्वकप अन्तर्गत नेपालसँग ७ विकेटले पराजित भएपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले नेपाली टोली र विशेषगरी दिपेन्द्रसिंह ऐरीको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्।

वानखेडे स्टेडियममा भएको खेलपछि प्रतिक्रिया दिँदै बेरिङ्टनले १७० रनको योगफल रक्षा गर्न नसक्नुमा ऐरीको विस्फोटक ब्याटिङ मुख्य कारण रहेको स्वीकार गरे।

कप्तान बेरिङ्टनले खेलको नतिजा नेपालको पक्षमा पार्ने मुख्य श्रेय ‘प्लेयर अफ द म्याच’ दिपेन्द्रसिंह ऐरीलाई दिए।

उनले भने, ‘पूरा श्रेय ऐरीलाई जान्छ, उनले खेलको मोमेन्टम नै परिवर्तन गरिदिए। १७० रनको स्कोर प्रतिस्पर्धात्मक थियो र नेपालले बलिङ पनि राम्रो गरेको थियो, तर एउटा इनिङले खेलको नतिजा नै बदल्यो।’

वानखेडे स्टेडियममा उपस्थित ठूलो संख्याका नेपाली समर्थकहरूले सिर्जना गरेको वातावरणलाई उनले ‘अद्भुत’ भनेर टिप्पणी गरे।

‘क्राउडको समर्थन नेपालको पक्षमा हुँदा खेल सधैँ कठिन हुन्छ भन्ने हामीलाई पहिल्यै थाहा थियो’, उनले भने।

आफ्नो टोलीले ब्याटिङमा केही रन जोड्न चुकेको संकेत गर्दै बेरिङ्टनले बताए।

उनले भने, ‘हामीले यस स्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ भनेर फेरि एकपटक देखायौँ, तर अझै केही खेल जित्न नसक्दा निराशा छ।’

यद्यपि, २० टोली सहभागी विश्वकपले एसोसिएट राष्ट्रहरूलाई ठूलो मञ्च प्रदान गरेकोमा उनले खुसी व्यक्त गरे।

‘यो २० टोलीको विश्वकप हुनु उत्कृष्ट कुरा हो। यसले धेरै एक्सपोजर दिन्छ र सबै टोलीहरू भविष्यमा अझ बलियो हुँदै जानेछन्’, उनले निष्कर्षमा भने।

फागुन ५, २०८२ मंगलबार २३:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।