अनुमतिविना युवतीको संवेदनशील अंग हेरेको अभियोगमा डा. जसवन दोषी ठहर, ६ महिना कैद र २ लाख क्षतिपूर्तिको फैसला

अनुमतिविना युवतीको संवेदनशील अंग हेरेको अभियोगमा डा. जसवन दोषी ठहर, ६ महिना कैद र २ लाख क्षतिपूर्तिको फैसला

काठमाडौं : काठमाडौं जिल्ला अदालतले वरिष्ठ प्लास्टिक सर्जन डा. जसवन शाक्यलाई यौन दुर्व्यवहारको गम्भीर कसुरमा दोषी ठहर गरेको छ।

ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत रहँदा उपचारका लागि पुगेकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा अदालतले शाक्यलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो।

उकेराको सम्पर्कमा आएकी पीडित युवती दुई वर्षअघि असोज ३ गते थाइको बोसो घटाउने विषयमा परामर्श तथा स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेकी थिइन्।

परीक्षण कक्षमा पुगेपछि डा. शाक्यले कुनै पूर्व जानकारी वा अनुमति नलिई युवतीको भित्री वस्त्र खोलेर गुप्ताङ्ग हेरेका थिए।

नियम अनुसार पुरुष चिकित्सकले महिला बिरामीको परीक्षण गर्दा महिला नर्स वा सहायक अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ, तर सो समयमा कक्षमा कोही पनि थिएनन्।

डाक्टरको व्यवहारबाट असहज महसुस गरेकी युवतीले आपत्ति जनाउँदा समेत शाक्यले बेवास्ता गर्दै भित्री वस्त्र तानेर गुप्ताङ्ग नियाल्दै भद्दा टिप्पणी गरेको आरोप लगाएकी थिइन्।

सो घटनालगत्तै युवतीले अस्पतालमा उजुरी दिएपछि शाक्य हाल ग्रान्डी अस्पतालबाट हटिसकेका छन्।

छ महिना कैद
अदालतले डा. शाक्यले बिरामीको गुप्ताङ्ग हेरेको स्वीकार गरेको तर त्यसको चिकित्सकीय औचित्य पुष्टि गर्न नसकेको ठहर गरेको छ। फैसलामा युवतीको शारीरिक परीक्षण वा शल्यक्रियाका लागि गुप्ताङ्गको परीक्षण आवश्यक नदेखिएको उल्लेख छ।

‘महिलाको अस्मिता र इज्जत जोडिएको संवेदनशील विषयमा वादीको सहमति नलिई छुन वा हेर्न मिल्दैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘उपचारका क्रममा भित्री पोशाक नखोली नहुने जटिल परिस्थितिमा बिरामीको अनुमति लिनुपर्ने र पुरुष चिकित्सकले उपचार गर्दा अनिवार्य रूपमा महिला स्वास्थ्यकर्मी साथमा राख्नुपर्ने व्यवस्थालाई प्रतिवादीले अनदेखा गरेको देखियो।’

डा. शाक्यले नेपाल मेडिकल काउन्सिलमा दिएको बयान र साक्षीको बकपत्रबाट पनि उनले एक्लै परीक्षण गरेको पुष्टि भएको अदालतले जनाएको छ।

सजाय र क्षतिपूर्ति
अदालतले डा. शाक्यको कार्यलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को उपदफा (१) विपरीत उपदफा (२) बमोजिमको कसुर ठहर गरेको छ।

सोही अनुसार डा. शाक्यलाई ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितको इज्जत र प्रतिष्ठामा पुगेको क्षति बापत २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको हो।

फागुन ५, २०८२ मंगलबार १९:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।