पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालक प्रहरीको नियन्त्रणमा

पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौंका ४२ वर्षीय पारस बम रहेका छन्।

पेशाले इन्जिनियर रहेका बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मंगलबार दिउँसो भोटाहिटीबाट नियन्त्रणमा लियो। गत शनिबार बा ३ च ११०३ नम्बरको कार चलाइरहेका बमले कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक वृद्ध पैदलयात्रीमाथि कुटपिट गरेका थिए।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरेको थियो। भिडियोमा चालक बमले ती पैदलयात्रीलाई कुटपिट गरेको र उनीसँगै रहेकी एक महिलाले समेत गालीगलौज गरेको देखिन्छ।

प्रहरीको प्रारम्भिक सोधपुछमा चालक बमले ती पैदल यात्रीले मादक पदार्थ सेवन गरी आफू र साथमा रहेका महिला सदस्यलाई अपशब्द बोलेकाले आवेशमा आएर हातपात गरेको दाबी गरेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार पक्राउ परेका बमलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरीले घटनाबारे थप छानबिन भइरहेको जनाएको छ।

फागुन ५, २०८२ मंगलबार १७:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।