टी-२० विश्वकपमा क्यानडाका १९ वर्षीय युवराज सामराको कीर्तिमानी शतक
एजेन्सी : जारी आईसीसी पुरुष टी-२० विश्वकपमा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सामराले न्युजिल्याण्डविरुद्ध ऐतिहासिक शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।
सामरा एकदिवसीय र टी-२० दुवै फर्म्याटमा विश्वकपको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो पुरुष खेलाडी बनेका छन्।
चेन्नईमा भएको खेलमा उनले मात्र ६५ बलमा ११० रनको विष्फोटक इनिङ्स खेले, जसमा ११ चौका र ६ छक्का सामेल थियो। उनले आफ्नो शतक ५८ बलमै पूरा गरे।
यो सामराको पहिलो अन्तर्राष्ट्रिय शतक मात्र होइन, टी-२० विश्वकपको इतिहासमा कुनै पनि एसोसिएट राष्ट्रका ब्याटरले प्रहार गरेको यो पहिलो शतक पनि हो।
यसका साथै, टेस्ट राष्ट्रविरुद्ध टी-२० आईमा शतक बनाउने उनी विश्वकै तेस्रो कान्छो र ऐतिहासिक खेलाडी बनेका छन्।
क्यानडालाई विश्वकपको दौडमा टिकिरहन यो खेलमा राम्रो प्रदर्शनको आवश्यकता थियो। सामराले छैटौं ओभरमा जेम्स नीशमको बलिङमा लगातार तीन चौका र एक छक्का प्रहार गर्दै आफ्नो लय समातेका थिए।
उनको उत्कृष्ट ब्याटिङको मद्दतले क्यानडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको छ।
फागुन ५, २०८२ मंगलबार १३:५८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।