विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडाैं : रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा झापाका धर्मप्रसाद राई र गोविन्दप्रसाद निरौला, गोरखाका सुरजबहादुर श्रेष्ठ तथा काठमाडौँकी निमा डोल्मा लामा रहेका छन्। प्रहरीका अनुसार निमा डोल्मा लामाले बेलायत पठाउने भन्दै सबैभन्दा धेरै ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

यस्तै, सुरजबहादुर श्रेष्ठले रोमानिया पठाउने आश्वासन दिएर सात लाख ५० हजार, धर्मप्रसाद राईले अष्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार र गोविन्दप्रसाद निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

फागुन ५, २०८२ मंगलबार ११:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।