कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, मोबाइल र स्मार्ट घडी लगायतका विद्युतीय उपकरण निषेध

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, मोबाइल र स्मार्ट घडी लगायतका विद्युतीय उपकरण निषेध

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुनेछ।

सार्वजनिक सूचना अनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हुनेछ।

परीक्षाका मुख्य मितिहरू:
वैशाख १४ गते : अनिवार्य अङ्ग्रेजी (नियमित परीक्षार्थीका लागि)।
वैशाख १५ गते : अनिवार्य नेपाली। (अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी पढ्ने विदेशी विद्यार्थीको परीक्षा पनि यसै दिन हुनेछ।)
वैशाख १६ गते : अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार)।

त्यसपछिका दिनहरूमा क्रमशः भौतिकशास्त्र, लेखा, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र लगायतका विषयहरूको परीक्षा तोकिएको छ।

बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै केन्द्रमा पुग्न निर्देशन दिएको छ।

परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई सहभागी गराइने छैन। साथै, परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण निषेध गरिएको छ।

जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन जुधेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डका सम्बन्धित कार्यालयमा जानकारी गराउन बोर्डले आग्रह गरेको छ।

अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नहुने पनि बोर्डले स्पष्ट पारेको छ।

फागुन ५, २०८२ मंगलबार ११:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।