काठमाडौँमा एकै महिनामा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँमा एकै महिनामा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं : काठमाडौंमा गत माघ महिनामा नाै सय ७६अपराधका मुद्दा दर्ता भएका छन्।

ती मुद्दामध्ये एक सय ५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन्। आर्थिक अपराधका भने चार सय ६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अन्य विभिन्न प्रकारका गरेर तीन सय ४० मुद्दा दर्ता भएको पनि उनले बताए।

यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौँमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ भने तीन सय ६० जनालाई पक्राउ गरी उनीहरूबाट दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ। यस्तै चालु मुद्दातर्फ सात सय ९ जनालाई पक्राउ गरिएको छ। यसमा छ सय ३७ पुरुष छन्।

महिला बालबालिकासँगसम्बन्धित उजुरी घरेलु हिंसातर्फ एकसय ४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका एक सय ३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ।

फागुन ५, २०८२ मंगलबार ११:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।