श्रीमानको उपचार खर्च जुटाउन हिँडेकी सन्ध्या : कुबेतमा ८५० दिनारमा बेचिइन्, साउनीले दोस्रो तलाबाट खसालेपछि आफैँ ह्वीलचेयर फर्किइन्

श्रीमानको उपचार खर्च जुटाउन हिँडेकी सन्ध्या : कुबेतमा ८५० दिनारमा बेचिइन्, साउनीले दोस्रो तलाबाट खसालेपछि आफैँ ह्वीलचेयर फर्किइन्
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : श्रीमान्को फोक्सोको उपचार गर्ने र छोराछोरीको भविष्य उज्ज्वल बनाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएकी एक नेपाली महिला मानव तस्करको पासोमा परी मृत्युको मुखबाट मुस्किलले फर्किएकी छन्।

ब्युटी पार्लरमा काम लगाइदिने र आकर्षक तलब हुने प्रलोभन देखाएर अवैध बाटो हुँदै कुवेत पुर्याइएकी ती महिलालाई त्यहाँ घरेलु कामदारको रूपमा ८५० कुवेती दिनार (केडी) मा बिक्री गरिएको र चरम यातनापछि घरको दोस्रो तलाबाट खसालिएको घटना बाहिर आएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ४ गते दायर गरेको अभियोगपत्रमा सन्ध्या (परिवर्तित नाम)को जाहेरीका आधारमा सल्यान घर भई हाल काठमाडौं बस्ने सुशिला थारु र सुर्खेत घर भई हाल भारतको नयाँ दिल्ली बस्ने ससिराम खड्कालाई मुख्य प्रतिवादी बनाइएको छ।

सपना र बाध्यताको फाइदा उठाउँदै बिछ्याइएको जाल
सन्ध्याका श्रीमान् फोक्सो सम्बन्धी गम्भीर रोगबाट ग्रसित थिए। घरको आर्थिक अवस्था नाजुक थियो भने छोराछोरीको लालनपालन र श्रीमान्को उपचारका लागि पैसाको सख्त अभाव थियो।

यही बाध्यताका बीच उनले आफैँ विदेश गएर कमाउने निधो गरिन्। राहदानी बनाएर काठमाडौं आएकी सन्ध्या टोखा नगरपालिका-९ स्थित ‘सरु ब्युटी पार्लर’ पुगिन्। त्यहीँ उनको भेट सुशिला थारुसँग भयो।

अभियोगपत्र अनुसार, सुशिला थारुले सन्ध्याको नाजुक अवस्था थाहा पाएपछि ‘नेपालबाट कुवेत देशमा फ्रि भिसा, फ्रि टिकटमा पठाउने, कुवेतमा ब्युटी पार्लरमा काम गर्ने हो, मासिक १२० के.डी. (करिब ५० हजार रुपैयाँ भन्दा बढी) तलब हुन्छ, तिमीले पैसा कमाएर पठाएपछि तिम्रो श्रीमान्को उपचार पनि हुन्छ’ भनी प्रलोभन देखाइन्।

काठमाडौंदेखि दिल्लीसम्मको कष्टकर यात्रा
मानव तस्करको गिरोहले सन्ध्यालाई काठमाडौंको गोंगबुस्थित ज्वाला गेष्ट हाउसमा ५ दिनसम्म राख्यो। त्यसपछि ‘नेपालबाट कुवेत जान नमिल्ने भयो, अब भारत हुँदै जानुपर्छ’ भन्दै २०८२ साल असार ४ गते काठमाडौंबाट नाइट बसमा चढाएर बुटवल पुर्याइयो।

बुटवलमा रोहित सुनार नामका व्यक्तिले रिसिभ गरी उनको राहदानी ‘करेन्ट चाउचाउ’को प्याकेटमा लुकाउन लगाई नेपालगञ्जको रुपइडिहा नाका हुँदै भारत छिराए।

दिल्ली पुगेपछि उनलाई शशीराम खड्काले जिम्मा लिए। अभियोगपत्रमा उल्लेख भएअनुसार, दिल्लीमा बन्धक बनाएर राख्ने क्रममा प्रतिवादी शशीराम खड्काले सन्ध्यामाथि यौन दुर्व्यवहार समेत गरेका थिए।

सन्ध्याले भनेकी छिन्, ‘शशीराम खड्काले मेरो शरीरको संवेदनशील अङ्गहरु छुने, शारीरिक सम्पर्क राख्न देउ म औषधि खान दिन्छु, गर्भ रहँदैन भन्ने गरेकोमा मैले नमान्दा गाली गलौज गर्ने, खाना समेत नदिई यातना दिई राखे।’

१५ दिनसम्म दिल्लीमा यातनापूर्ण बसाइपछि उनलाई ‘हाम्रो कुवेतमा चिनजानका मानिस भएकोले घुम्न जान लागेको भन्नु’ भनी सिकाएर दिल्ली एयरपोर्टबाट दुईवटा ट्रान्जिट हुँदै कुवेत पुर्याइयो।

कुवेतमा बिक्री र नर्कजस्तो जीवन
कुवेत पुगेपछि एयरपोर्टबाट एक घण्टाको दुरीमा रहेको ‘फायल’ भन्ने स्थानको एक एजेन्ट अफिसमा उनलाई पुर्याइयो। त्यहाँ ‘सेरिया’ नाम गरेकी भारतीय महिलाले उनलाई रिसिभ गरिन्। त्यसको केही समयपछि उनलाई एक अरबी घरधनीलाई ८५० केडी (कुवेती दिनार) मा बिक्री गरियो।

सन्ध्याले भनिन्, ‘एजेन्ट अफिसमा आएका अरबी मुलुकका पुरुषले एजेन्ट अफिसकी सेरिया नाम गरेकी महिलालाई ८५० के.डी. रकम दिई मलाई खरिद गरे।’

ब्युटी पार्लरको काम भनेर लगिएकी उनलाई घरेलु कामदार बनाइयो। त्यहाँ उनले ७ जना बच्चा हेर्ने, सरसफाई गर्ने, कपडा आइरन गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उनका अनुसार, उनलाई दैनिक २१ घण्टासम्म काममा लगाइन्थ्यो।

कहिलेकाहीँ त २४ घण्टामा १ घण्टा मात्र सुत्न दिइन्थ्यो। बच्चा रोएमा घरधनीकी श्रीमतीले उनलाई कुटपिट गर्ने, कपाल लुछ्ने र चिमोट्ने गर्थिन्। उनलाई २ दिनमा एक पटक मात्र खाना दिइन्थ्यो, जसले गर्दा उनी शारीरिक र मानसिक रूपमा विक्षिप्त बनिन्।

दोस्रो तलाबाट खसालियो
घरमा काम गर्ने क्रममा बिरामी हुँदा समेत सन्ध्याले उपचार पाइनन्। उल्टै, उनले लुकाएर राखेको मोबाइल घरधनीले फेला पारे।

उनले ह्वाट्सएप मार्फत प्रतिवादी शशीराम खड्कालाई सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउँदै उद्धारको याचना गरेकी थिइन्। तर, शशीरामले उल्टै ‘६ महिनासम्म यातना सहेर बस्नु’ भन्दै ह्वाट्सएपमा ब्लक गरिदिए।

२०८२ भदौ २१ गतेको दिन सन्ध्याका लागि सबैभन्दा भयानक बन्यो। राम्रोसँग काम नगरेको आरोप लगाउँदै घरधनी महिलाले उनलाई टाउको र शरीरका विभिन्न भागमा कुटपिट गरिन्। यतिले मात्र नपुगेर उनलाई घरको दोस्रो तलाको झ्यालबाट तल खसालिदिइन्।

‘​​​​​​म घर बाहिर भुइँमा लडी मेरो हात, खुट्टा, ढाड लगायतका अङ्गमा चोटपटक लागि घाइते आएँ, मेरो मुखबाट समेत रगत बगेको अवस्था थियो’, सन्ध्याले भनेकी छन्।

गम्भीर घाइते अवस्थामा बेहोस भएकी उनलाई कुवेती प्रहरीले उद्धार गरी आदान अस्पताल पुर्यायो। उनको ढाडको शल्यक्रिया भयो। दुई महिना ४० दिनसम्म अस्पतालमा उपचार गराउँदा कुवेती प्रहरीले घरधनीलाई उपचार खर्च ब्यहोर्न लगाए पनि पछि घरधनीले वास्ता गरेनन्।

कुवेतमा रहेकी सन्ध्याकी दिदी र ‘युवा शक्ति’ नामक संस्थाको पहल तथा नेपाली दूतावासको समन्वयमा उनको थप उपचार र नेपाल फिर्तीको प्रक्रिया अघि बढ्यो।

कुवेती प्रहरीले पीडक घरधनी र एजेन्ट सेरियालाई पक्राउ गरेको बताइएको छ। अन्ततः २०८२ मंसिर ९ गते उनी नेपाल फर्कन सफल भइन्। हाल उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।

मेडिकल रिपोर्ट अनुसार उनको ‘दाहिने कुर्कुच्चाको हड्डी फुटेको, देब्रे खुट्टाको हड्डी र ढाडको हड्डी भाँचिएको लगायतका गम्भीर चोटहरू देखिएको छ। उनी अहिले ह्वीलचेयरको सहारामा छन्।

अनुसन्धान र प्रतिवादीको बयान
नेपाल फर्किएपछि पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरू गर्यो। अनुसन्धानका क्रममा प्रतिवादी सुशीला थारु पक्राउ परिन्। सुशीलाले बयानमा आफूले पीडितलाई चिनेको र एजेन्ट ससिराम खड्कासँग सम्पर्क गराइदिएको स्वीकार गरेकी छन्।

सुशीलाले भनेकी छन्, ‘शशीराम खड्काले अरु महिलाहरूलाई पनि कुवेत पठाउने गरेको र यसपटक दुई जना (पीडित र अर्की डोल्मा लामा) लाई पठाए बापत मलाई २० हजार रुपैयाँ दिने भनेकोमा ५ हजार मात्र दिएको हो।’

सुशीलाले आफूले मानिस चिनाइदिएको मात्र हो, बेचेको होइन भनी जिकिर गरे पनि उनले कमिसन खाएको र अवैध बाटोबाट पठाउन भूमिका खेलेको पुष्टि भएको प्रहरीको दाबी छ।

अर्का मुख्य प्रतिवादी शशीराम खड्का भने हालसम्म फरार छन्। उनी भारतको नयाँ दिल्लीमा बसेर मानव तस्करीको गिरोह चलाउने मुख्य योजनाकार रहेको अभियोगपत्रमा उल्लेख छ। उनी लगायत रोहित सुनार, मिलन ओली लगायतका व्यक्तिहरूको खोजी भइरहेको छ।

सरकारी वकिलको मागदाबी
जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरू सुशिला थारु र शशीराम खड्काविरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ अन्तर्गत मुद्दा दायर गरेको छ।

अभियोगपत्रमा उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ४ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर गरिएको छ। यस कसुरमा ऐनको दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको सजाय माग गरिएको छ।

साथै, शशीराम खड्काले पीडितको शरीरका संवेदनशील अङ्ग छुने र यौन दुर्व्यवहार गर्ने प्रयास गरेकोले नैतिक पतन देखिने फौजदारी कसुर गरेको दाबी समेत लिइएको छ।

यसका साथै, पीडितलाई लागेको उपचार खर्च रु ३० हजार ७६० र प्रतिवादीलाई हुने जरिवानाको ५० प्रतिशत रकम क्षतिपूर्तिको रूपमा भराई पाउन र कुवेतमा काम गरेको साढे दुई महिनाको तलब बराबरको नेपाली रकम पनि क्षतिपूर्ति भराउन माग गरिएको छ।

फागुन ५, २०८२ मंगलबार १०:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।