धनगढी उडेको श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौं फिर्ता
काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौं फर्किएको छ।
सोमबार राति उडेको जहाज अवतरण हुन नसकी फिर्ता भएपछि यात्रुहरू मध्यरातमा अलपत्र परेका हुन्।
काठमाडौंबाट राति ९:४५ बजे उडेको उक्त जहाजले धनगढी विमानस्थलमा अवतरणका लागि पटक-पटक प्रयास गरेको थियो।
तर, अवतरण सम्भव नभएपछि जहाज राति १२:०० बजे काठमाडौं नै फर्किएको हो। उडानमा चालक दलका सदस्यसहित ८० जना सवार थिए।
जहाजमा रहेका सञ्चारकर्मी तथा यात्रु रोयल आचार्यका अनुसार, काठमाडौं फर्किएपछि विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएका थिए।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धनगढीमा अवतरणको प्रयास असफल भएपछि क्याप्टेनले जहाज फर्काउने निर्णय गरे। ४ दिनको बिदा लिएर हिँडेको म रातको १ बजे घरै फर्किएँ।’
यसैबीच, एयरलाइन्सका कर्मचारी सागर पौडेलले यात्रुहरूलाई विकल्प दिइएको जानकारी दिएका छन्।
उनले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गरिने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने बताए।
फागुन ५, २०८२ मंगलबार १०:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।