चितवनमा अटोको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा अटोको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन : चितवनको कालिका नगरपालिका-७ बेलचौरमा मंगलबार साँझ अटोले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भित्री सडक खण्डमा क्लब चोकबाट जुटपानीतर्फ जाँदै गरेको बा.प्र.०३-००१ स ०४६९ नम्बरको अटोले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०६-००३ प ८०१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी स्कुटर चालक भरतपुर महानगरपालिका-१२ बस्ने ३८ वर्षीय प्रकाश मल्ल ठकुरी गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका ठकुरीलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्याइएकोमा चिकित्सकले साँझ ६:०० बजे मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी निरीक्षक जय नेपाल थापाको कमाण्डमा खटिएको टोलीले अटो, स्कुटर र रत्ननगर नगरपालिका-१५ बस्ने ४६ वर्षीय अटो चालक इन्द्र प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि राति ९:३० बजे भरतपुर सरकारी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फागुन ५, २०८२ मंगलबार ०९:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।