काभ्रेको सेवा घरमा आश्रित ९६ वर्षीय वृद्धको मृत्यु, सम्पर्कमा आएनन् आफन्त
काभ्रे : धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीस्थित ‘मानव कल्याण समाज सेवा घर’ मा आश्रय लिइरहेका एक वृद्धको मंगलबार साँझ मृत्यु भएको छ।
२०७८ सालदेखि उक्त सेवा घरमा बस्दै आएका अन्दाजी ९६ वर्षीय राम बहादुर मानवको मृत्यु भएको हो। उनको स्थायी ठेगाना सिन्धुली घर बताइने गरेको प्रहरीले जनाएको छ।
साँझ करिब ६:०० बजे वृद्धको मृत्यु भएको खबर प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कुल बहादुर कुँवरको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धान र मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक वेद नारायण श्रेष्ठको कमाण्डमा विशेषज्ञ सहितको टोली खटिएको थियो।
प्रहरीका अनुसार मृतकका आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्।
घटनास्थलको कानुनी प्रक्रिया र मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि राति ९:०० बजे धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
फागुन ५, २०८२ मंगलबार ०९:०६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।