विशेष महाधिवेशनले बनाएको माहोल सम्हाल्दै सय सिट जित्ने रणनीतिमा कांग्रेस

विशेष महाधिवेशनले बनाएको माहोल सम्हाल्दै सय सिट जित्ने रणनीतिमा कांग्रेस
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनताका अन्य दलको जस्तै कांग्रेसको भवन पनि जल्यो। नेवारी शैलीमा बनेको मूल ढोकाको धेरै भाग जलेर ध्वस्त छ।

त्यही जलेको ढोकाअघि नेपाली कांग्रेसका संस्थापक एवं पूर्व सभापति वीपी कोइरालाको अबिर-माला लगाइएको तस्बिर छ। तैपनि, तीन भवन जोडेर बनाइएको कांग्रेस पार्टी कार्यालय (वीपी स्मृति भवन)मा चुनावको चटारो प्रस्ट देखिन्छ।

मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पुस्तकालयमा ३० हजार पुस्तक थिए। अनलाइन पढ्न राखिएका ७ वटा कम्प्युटर थिए। भदौ २४ मा ती सबै जले। पार्टीका महत्त्वपूर्ण दस्तावेज र तस्बिरसमेत जले। ती सामग्री मात्र होइनन्, पुस्तकालय भएको भवन तीन दिनसम्म जलिरहँदा त्यस भागको ‘रेट्रोफिटिङ’ नै गर्नुपर्यो।

उकेराकर्मी पुग्दा त्यही भवनमा फागुन २१ को चुनावी रौनक प्रष्टै देखियो। एकातिर कांग्रेसको पार्टी भवन मर्मत गर्न कामदार खटिरहेका थिए, अर्कोतिर नेता-कार्यकर्ता चुनावी रणनीति बनाउन व्यस्त थिए। मुख्य सचिव दुलाल घरि कामदारलाई अह्राउन त घरि पार्टीको काममा व्यस्त देखिन्थे।

‘बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म यतै हुन्छु म,’ दुलालले भने, ‘मसहित १८ जना स्टाफ छौँ। भवन पुनर्निर्माणसँगै चुनावको तयारीसमेत गरिरहेका छौँ।’

विशेष महाधिवेशनले सघाएको माहोल सम्हाल्ने रणनीति
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गरे पार्टी फुट्ने भन्दै नियमित महाधिवेशनमा जोड दिएका थिए।

जेनजी आन्दोलनमा आफ्नै निवासमा श्रीमतीसहित कुटिएका देउवाले आफू सभापति पदमा नलड्ने र सक्रिय राजनीति पनि नगर्ने घोषणा गरेर नियमित महाधिवेशनको जिम्मेवारीसहित कार्यवाहक पूर्णबहादुर खड्कालाई दिए।

तर, खड्कासहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत लगायतले न नियमित महाधिवेशनमा जान दिए, न त विशेष महाधिवेशनतिर नै। उनीहरू निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्ने पक्षमा उभिए।

त्यो बीचमा उपचारका लागि विदेश गएका देउवा स्वदेश फर्किएर पार्टी विभाजन हुने भन्दै पुसभित्र नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि पुनः त्यही समूहले नियमित महाधिवेशनको कार्यतालिका असफल बनायो।

विकल्पमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेर पार्टीको विशेष महाधिवेशनमार्फत नेतृत्व बदले। विशेष महाधिवेशनबाट सभापतिमा गगन चुनिए भने विश्वप्रकाश उपसभापति बसे। दुवै महामन्त्रीमा नयाँ अनुहार आए।

अहिले चुनावमा त्यही विशेष महाधिवेशन नै मतदातामाझ कांग्रेसको मुख्य प्रभाव बनेको छ। जेनजी आन्दोलनको माग पार्टीको पुस्तान्तरण र नयाँ नेतृत्व रहेको र त्यही अनुसार कांग्रेस बदलिएको भन्दै हिजो विशेष महाधिवेशनको विपक्षमा रहेकाहरू समेत मतदातामाझ मत माग्न व्यस्त छन्।

‘हामीले विशेष महाधिवेशन गर्नुको कारण पार्टीलाई ‘रिफर्म’ गर्न हो। हामीले कांग्रेसलाई धेरै बदलेका पनि छौँ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘सभापतिजीले प्रत्यक्षमा १ सय सिट जित्ने रणनीतिका साथ काम गर्न भन्नुभएको छ, हामी त्यसरी नै लागिरहेका छौँ।’

उम्मेदवारलाई छैन खर्च
२०७९ मा तत्कालीन माओवादीसहितका दलहरूसँग गठबन्धन गरेको कांग्रेसले यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवार उठाएको छ। निर्वाचन आयोगले ठाउँ हेरेर २७ देखि ३३ लाखसम्म खर्च गर्न अनुमतिसमेत दिएको छ। यी सबै खर्च बैंकमार्फत गर्न आयोगले निर्देशिका नै बनाएको छ।

यसअघिका चुनावमा कांग्रेसले उम्मेदवारलाई न्यूनतम दुई लाख खर्च दिने गर्दथ्यो। तर, यसपटक भने केन्द्रले उम्मेदवारलाई पैसा नदिएको प्रवक्ता चालिसेले बताए।

‘यसपटक उम्मेदवारले आफ्नै साथीसंगी र सहयोगीसित रकम लिनेछन्। पार्टीले कसैलाई पनि सहयोग गरेको छैन,’ उनले भने, ‘स्वस्फूर्त रूपमा शुभेच्छुक साथीहरूले दिएमा बैंक खातामार्फत रकम आउला।’

सय सिटको कठिन लक्ष्य
पार्टी उपसभापति विश्वप्रकाश शर्माले आइतबार एक कार्यक्रममा पार्टी एक सय सिट जित्नेगरी अगाडि बढिसकेको र एक साताभित्र यही माहोल कायम रहे बहुमत आउने चरणमा पुग्ने दाबी गरे। तर, उनको दाबी धेरैले पत्याएका छैनन्।

उता, चुनावी प्रचारका लागि आयोजित कार्यक्रमहरूमा पार्टी सभापति गगनले पार्टीलाई सय सिट जिताउने गरी अगाडि बढ्न निर्देशन दिइरहेका छन्। उनले ‘अबकी बार, गगन सरकार’ भनेर नारा लगाउने कार्यकर्ताहरूलाई नारा बदलेर ‘अबकी बार, सय पार’ बनाउन आग्रहसमेत गरिरहेका छन्।

यसले २०७९ मा जितेको ७९ सिटमा २१ सिट थप्ने पार्टीको रणनीति देखिन्छ। त्यसलाई सबैभन्दा धेरै साथ विशेष महाधिवेशनले नै दिएको छ। विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेकाले पुराना दलमध्ये कांग्रेसको पक्षमा माहोल केही सकारात्मक देखिए पनि सय सिटको लक्ष्य भने त्यति सहज देखिन्न।

प्रवक्ता चालिसे पार्टी सरकारमा छँदा गरेका राम्रा कामलाई मतदातामाझ पुर्याउन र अब कसरी ‘डेलिभर’ गर्ने भन्नेबारे अहिले धेरै काम गरेको बताउँछन्। बदलिएको समय अनुसार मतदाताको मागको सुनुवाइ गर्नुपर्ने र त्यसका लागि पार्टी रणनीतिक रूपमा तयार रहेको उनले दाबी गरे।

‘हामीले बदलिएको समयलाई कसरी सम्बोधन गर्छौँ अनि जनताको मागलाई कसरी सम्बोधन गर्ने भन्ने एजेन्डा बनाएका छौँ। हाम्रो सभापतिले त्यसलाई तथ्यसहित भनिरहनुभएको पनि छ,’ उनले भने, ‘यसपटक हामीले घरदैलो अभियानसँगै डिजिटल प्रचारलाई पनि महत्त्व दिएका छौँ।’

कांग्रेसको चुनावी रणनीति बुझ्दा उसले यसअगाडि झैँ ठूला आमसभाभन्दा डिजिटल प्रचार र मतदाताको घरदैलोलाई बढी प्राथमिकता दिएको देखिन्छ। आमसभा गर्दा एकोहोरो आफ्नो कुरा मात्रै जाने र नागरिकका असन्तुष्टि कम सुनिने भएकाले आमसभाभन्दा घरदैलोमा जोड दिएको प्रवक्ता चालिसेले बताए।

जो जहाँ हो त्यहीँ खटाउने रणनीति
चुनावमा कम खर्च गर्ने बताएको कांग्रेसको केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएर निर्वाचन क्षेत्रमा खटाएको छ। त्यस्तै ३४ बुँदे ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका- २०८२’ सम्बन्धी परिपत्रसमेत जारी गरेको छ।

निर्देशिकामा कांग्रेसको केन्द्रीय समितिले पार्टी सभापति गगनलाई आगामी प्रधानमन्त्रीको रूपमा सर्वसम्मत ढंगले अघि सारेको उल्लेख गर्दै यस निर्णयले पार्टीको पक्षमा बलियो चुनावी माहोल बनेको दाबी गरिएको छ। परिपत्रमा यही उम्मेदवारीलाई मतदाताको विश्वास आर्जन गर्ने मुख्य कडी बनाउन निर्देशन दिइएको छ।

यही अनुसार कांग्रेसले यसपटक ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने नारा अघि सारेको छ। यो विशेष महाधिवेशनसँग गएर जोडिन्छ। पार्टीको प्रतिज्ञापत्रमा उल्लेखित ‘भिजन १०’ लाई डिजिटल माध्यम, सामाजिक सञ्जाल र सभाहरूमार्फत बुँदागत रूपमा मतदातासमक्ष लैजाने भनिएको पनि छ।

निर्देशिकाले ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने मान्यताका साथ विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। यसको अर्थ पनि उही विशेष महाधिवेशनबाट बदलिएको नेतृत्व हो। तर, नेतृत्व बदलिएकै आधारमा कांग्रेस कसरी बदलियो? तल्लो तहका मतदातासम्म सन्देश पुग्न सकेको छैन।

पार्टी प्रवक्ता देवराज घिमिरे।

विशेष महाधिवेशनले शेरबहादुर देउवाको स्थानमा गगनलाई ल्यायो। उम्मेदवारीका हकमा टिकट पाउन यसपटक केन्द्रका नेता रिझाउनुपर्ने अवस्था रहेन भन्ने धेरैको प्रतिक्रिया देखिन्छ। तर, यो बीचमा आफूनिकट रहेकै आधारमा संगठनमा नभिजेका आलाकाँचालाई जेनजी प्रतिनिधिको आवरणमा जसरी गगनले अगाडि सारेका छन्, त्यसले सकारात्मक सन्देश दिएको देखिएन।

बदलिएको दाबी गर्ने कांग्रेसका लागि देखाउन शेरबहादुर देउवा होलान् तर त्यसमा गगनले हस्ताक्षर गरेर उम्मेदवार बनाएका विजयकुमार गच्छदार पनि छन्। बदलिएको कांग्रेसमा गच्छदारजस्ता बदनाम पात्र, नुवाकोटबाट आफ्ना ससुराहरूमध्ये एक समानुपातिक, एक प्रत्यक्ष र अर्का केन्द्रीय सदस्य हुनुले गगन पनि ‘उही ड्याङका हुन्’ भन्ने सन्देश कांग्रेसभित्र फैलनु स्वाभाविक हो।

‘५/५०’ रणनीति र ‘डिजिटल’ अभियान
बदलिएको माहोलमा अहिले तल्लो तहमा कुन नेताको कस्तो छवि छ भन्ने महत्त्वपूर्ण पक्ष गौण देखिन्छ।

कांग्रेस पनि नयाँ दलको हावा अनुसार जनाधार होइन, सामाजिक सञ्जालमा कसको कति फलोअर्स छ भन्नेमा बढी केन्द्रित भएको देखिन्छ। त्यसको उदाहरण जनाधार बलियो भएको भन्दा आफ्नो खराउ बोक्न राजी भएको व्यक्तिलाई आफूले छाडेको काठमाडौं-४ मा उम्मेदवार बनाउनु र आफ्नो क्षेत्रपछि त्यही क्षेत्रमा बढी खटिनुले देखाउँछ।

गगन उम्मेदवार मात्र होइनन्, उनी कांग्रेसको सभापति पनि हुन्। तर, जब-जब उनी मधेसको आफ्नो क्षेत्रबाट फुर्सद पाउँछन्, काठमाडौं-४ मा देखिन्छन्। थापा महामन्त्री भएकाले होला, काठमाडौं-५ मा पनि उनी देखिएका छन्। तर, उपत्यकाको बाँकी १३ सिटका पार्टीका उम्मेदवार गगनका होइनन्? प्रश्न उठ्नु स्वाभाविक हो।

डिजिटलमा बनेको रास्वपाको माहोल अनुसार कांग्रेस पनि डिजिटल अभियानमा लागेको छ। गगनका लागि डिजिटल ‘क्याम्पेन’ नयाँ होइन। हिजो उनी आफ्ना लागि मात्र गर्थे, अहिले पार्टी सभापति भएपछि पार्टीका लागि पनि आफ्नो ‘कोर टिम’ परिचालन गरिरहेका छन्। विशेष महाधिवेशनको यो फाइदा नै हो पार्टीलाई।

यसको प्रभाव डिजिटल दुनियाँमा देखिन्छ नै। तर, उत्पादित सामग्री हेर्दा कांग्रेसको उम्मेदवारभन्दा गगन र शेरबहादुर वा शेखर कोइरालाको उम्मेदवार भन्ने फरकपन देखिन्छ। त्यसमा अहिले डिजिटलको उपयोग गर्दै पार्टीको योजना सार्वजनिक गर्न सभापति गगन आइप्याड र मोबाइलसहित स्क्रिनमा देखिइरहेका छन्। तर, उनको भाषा शहरी ‘इलिट’का लागि बुझ्न सकिने भए पनि ग्रामीण मतदाताका लागि भने जादुजस्तो मात्र देखिन्छ।

तैपनि, कांग्रेसले निर्वाचनलाई प्रविधिमैत्री बनाउन ‘फिजिकल’भन्दा ‘डिजिटल’ प्रचारमा जोड दिएको देखिन्छ। यो पनि उम्मेदवारमा भर परेको छ। संगठन परिचालनका लागि ‘५/५०’ रणनीति बनाउँदै ५ जना क्रियाशील सदस्यको एउटा टोलीले ५० घरपरिवारसँग निरन्तर सम्पर्क र समन्वय गर्ने उल्लेख छ। तर, यो केवल कागजमा मात्र सीमित देखिन्छ।

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान अन्तर्गत फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूलाई आ-आफ्नो वडा र कार्यक्षेत्रमा अनिवार्य खट्न निर्देशन दिइएको छ। ‘हाम्रो वडा हामी जिताउँछौं’ भन्ने उद्घोषका साथ सदस्यहरूलाई आफ्नै भूगोलमा केन्द्रित हुन भनिएको छ।

आर्थिक पारदर्शिता र सामाजिक मुद्दा
कांग्रेसले चुनावी खर्चका लागि कुनै पनि व्यवसायीलाई दबाब नदिने र ‘साझा दायित्व’का आधारमा कोष खडा गरी फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको देखिन्छ। यो सकारात्मक पहल हो।
निर्वाचन सकिएको १५ दिनभित्रै आयोगमा खर्च विवरण बुझाउने प्रतिबद्धतासमेत निर्देशिकामा छ। यसलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ।

स्थानीय मुद्दाहरूमा ‘जे पनि आश्वासन दिने’ प्रवृत्ति त्यागेर पूरा गर्न सकिने (फिजिबल) र लाभ हासिल हुने (भायबल) योजना मात्र अघि सार्न उम्मेदवारहरूलाई सुझाइएको छ।

विदेशबाट फर्किएका युवा, अवकाशप्राप्त कर्मचारी र बुद्धिजीवीहरूको सञ्जाललाई समेत निर्वाचन परिचालनमा सक्रिय बनाउने कांग्रेसको योजना देखिन्छ। यो पनि राम्रो योजना हो। तर, फिल्डमा कार्यान्वयन भएको भने देखिँदैन।

ठूलो पार्टी बन्ने दाबी
मुख्य सचिव दुलालले भनेजस्तै कांग्रेस कार्यालयमा प्रचारप्रसार विभागलाई भ्याइनभ्याइ देखिन्थ्यो। पार्टीको शुभेच्छुक संस्था प्रेस युनियन तथा कांग्रेस निकट पत्रकारहरू कांग्रेसबारे गैर-कांग्रेसको धारणा आगामी अंकमा कसलाई ल्याउने, पेसागत घोषणापत्र कस्तो बनाउने, अनलाइन प्रचार कसरी आक्रामक बनाउने भन्नेतर्फ लागिरहेको देखिन्थ्यो।

यसैको आधारमा प्रवक्ता चालिसेले कांग्रेस बदलिएकाले ठूलो पार्टी बन्ने दाबी गरे। तर, यो दाबीमा विश्वसनीय आधार भने देखिएन।

‘कांग्रेससँग एजेन्डा छ, पार्टीको लिगेसी छ, सिद्धान्त छ अनि जोसजाँगर भएको 'मिसन' भएको व्यक्तिको नेतृत्व छ,’ उनले भने, ‘यो चुनावमा समानुपातिक र प्रत्यक्ष दुवैमा कांग्रेस पहिलो हुन्छ।’

उनका अनुसार नेतृत्व फेरिएपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय जोडेर मिसन बताइरहेकाले कांग्रेसले जित्ने दाबी गरे। केही काम भएको पनि देखिन्छ। विशेष महाधिवेशनका कारण एमालेजस्तो हाइप नै लिन नसक्ने अवस्था पनि देखिन्न। तर, केवल नयाँ अनुहार र दाबीकै आधारमा बालेन शाहको ‘क्रेज’ काट्न भने कांग्रेसका हकमा त्यति सहज देखिन्न।

सबैभन्दा महत्त्वपूर्ण पक्ष- ‘यत्रो वर्ष पुराना दललाई हेर्यौं, अब पाँच वर्ष हेर्दा के फरक पर्छ’ भन्ने सन्देश जसरी तल्लो तहमा फैलिएको छ, त्यसलाई काट्न गगनको आइप्याडमुखी भिडियो मात्र प्रभावकारी हुन सक्ने देखिन्न।

पार्टीका चुनावी रणनीतिबारे उकेराले यसअघि प्रकाशित गरेका सामग्री:

फागुन ५, २०८२ मंगलबार ०७:४४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।