टी-२० विश्वकपमा नेपाल र स्कटल्याण्डबीच प्रतिष्ठाको लडाइँ

टी-२० विश्वकपमा नेपाल र स्कटल्याण्डबीच प्रतिष्ठाको लडाइँ

काठमाडौं : टी-२० विश्वकपको समूह ‘सी’ बाट बाहिरिइसकेका नेपाल र स्कटल्याण्ड मंगलबार मुम्बईको वाङखेडे स्टेडियममा आमनेसामने हुँदैछन्।

सुपर-८ को दौड सकिए पनि दुवै टोली जितका साथ प्रतियोगिताको अन्त्य गर्न र प्रतिष्ठा जोगाउन मैदानमा उत्रिनेछन्।

बंगलादेश निष्कासित भएपछि अन्तिम समयमा विश्वकपमा स्थान बनाएको स्कटल्याण्ड र टेष्ट राष्ट्रहरूलाई चुनौती दिने लक्ष्यसहित आएको नेपाल, दुवैका लागि यो विश्वकप पछुतोमै बित्यो।

नेपालले आफ्नो पहिलो खेलमा इङ्ल्याण्डलाई कडा चुनौती दिए पनि ४ रनले पराजित हुनुपरेको थियो। उता स्कटल्याण्डले पनि इङ्ल्याण्डविरुद्धको खेलमा ३० रन कम बनाउँदा र १५२ रनको रक्षा गर्न नसक्दा जितबाट बञ्चित भयो।

आइतबार वेस्ट इन्डिजसँगको फराकिलो हारले नेपालको गणितीय सम्भावना सकियो भने सोमबार इङ्ल्याण्डले इटालीलाई हराएपछि दुवै टोली समूह चरणबाटै बाहिरिने पक्का भयो।

प्रतिष्ठा र फ्यानका लागि जित्नैपर्ने दबाब
दुवै टोली घर फर्किनुअघि अन्तिम खेल जित्न चाहन्छन्। नेपालका कप्तान रोहित पौडेलले ठूला टोलीहरूसँग अझ बढी खेल्ने अवसरको माग गरिरहँदा, विश्वकपको पहिलो जितले त्यो मागलाई बलियो बनाउनेछ।

नेपालका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले भने, ‘हामी हाम्रा समर्थकहरूलाई यो विश्वकपबाट सम्झन लायक केही उपहार दिन चाहन्छौं। हाम्रा फ्यानहरू निकै जोसिला छन् र उनीहरूको समर्थन अद्भुत छ।’

टी-२० आईमा नेपाल र स्कटल्याण्डबीच यो तेस्रो भेट हुनेछ। गत वर्ष स्कटल्याण्डमा भएको त्रिकोणात्मक शृंखलामा दुवै टोलीले १-१ खेल जितेका थिए। उक्त शृंखलामा सन्दिप लामिछानेले ४ विकेट लिँदै नेपाललाई रोमाञ्चक जित दिलाएका थिए।

लेगस्पिनर सन्दिपका लागि यो प्रतियोगिता बिर्सनलायक रहेको छ। उनले अहिलेसम्म १ विकेट मात्र लिएका छन् र इटालीविरुद्ध उनी निकै महँगो सावित भएका थिए। स्कटल्याण्डविरुद्ध उनले आफ्नो पुरानो लय समात्ने अपेक्षा गरिएको छ।

उता इङ्ल्याण्डविरुद्ध महँगो सावित भएका स्कटल्याण्डका स्पिनर मार्क वाट पनि कमब्याक गर्ने दाउमा हुनेछन्।

मंगलबार मुम्बईको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। वाङखेडेको पिचले स्पिनरलाई मद्दत गर्न सक्छ। यो साँझको खेल भएकोले टस जित्ने टोलीले लक्ष्य चेज गर्ने निर्णय गर्न सक्छन्।

नेपालले यसै मैदानमा ३ खेल खेलिसकेको हुनाले उनीहरूलाई पिचको अवस्थाबारे स्कटल्याण्डभन्दा बढी जानकारी हुनेछ।

फागुन ५, २०८२ मंगलबार ०७:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।