चुनावका लागि ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता
काठमाडाैं : फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म छ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि देशभरका तीन हजार चार सय छ उम्मेदवारमध्ये छ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका सचिव कृष्णबहादुर राउतले कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको बताए। सात सय ५३ वटै स्थानीय तहमा कुनै न कुनै बैंकको उपस्थिति रहेकाले खाता खोल्न यति असहज हुनु नपर्ने उनको भनाइ थियो।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उम्मेदवारको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरिसकेको छ।
दल र उम्मेदवारले २५ हजारभन्दा धेरै रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।
हाल देशभर राजनीतिक दल र उम्मेदवारले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाइएको छ। उम्मेदवारलाई खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने प्रवक्ता भट्टराईले बताए।
उनकाअनुसार, खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल पनि गरेको थियो। बैंक तथा वित्तीय संस्थाले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ। उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन लगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए।
फागुन ४, २०८२ सोमबार १८:१३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।