पाकिस्तानको पञ्जाबमा प्रहरीलाई नयाँ नियम, जनतालाई ‘ओए’ भन्न नपाइने
एजेन्सी : पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले प्रहरीलाई जनतासँग बोल्दा सम्मानजनक र विनम्र भाषा प्रयोग गर्न कडा निर्देशन दिएकी छिन्।
अब सार्वजनिक स्थानमा प्रहरीले नागरिकलाई ‘ओए’ भनेर सम्बोधन गर्ने जस्तो अभद्र व्यवहार गर्न पाउने छैनन्।
लाहोरमा प्रहरी सुधारसम्बन्धी एक बैठकमा बोल्दै मुख्यमन्त्री नवाजले प्रहरीले जनताको गरिमाको सम्मान गर्नुपर्ने बताइन्। उनले प्रहरीको सोच र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको र यसका लागि जवाफदेही बनाइने स्पष्ट पारिन्।
मुख्यमन्त्रीले सबै प्रहरी चौकी, कार्यालय र चेकपोस्टहरूमा खटिने प्रहरीले नागरिकलाई अनिवार्य रूपमा ‘सर वा म्याडम’ अथवा ‘साहब वा साहिबा’ भनेर सम्बोधन गर्नुपर्ने नियम बनाएकी छिन्।
यदि कुनै प्रहरी कर्मचारीले जनतासँग विनम्रतापूर्वक बोल्न अस्वीकार गरेमा उनीहरूलाई जनतासँग सिधा सम्पर्क हुने ड्युटीमा नखटाइने चेतावनीसमेत दिइएको छ।
प्रहरीले नागरिकलाई डराउने र धम्क्याउने गरेको गुनासो बढेपछि मुख्यमन्त्रीले उनीहरूको बडी ल्याङ्ग्वेज र कुराकानी गर्ने शैली सुधार्न तालिमको व्यवस्था गर्न निर्देशन दिएकी छिन्।
साथै, गस्तीमा खटिने र जनतासँग प्रत्यक्ष काम गर्ने ट्राफिक तथा अन्य प्रहरीका लागि ‘बडी क्यामेरा’ अनिवार्य गरिएको छ। आगामी दुई महिनाभित्र पञ्जाब प्रहरी र ट्राफिक प्रहरीका सबै कर्मचारीलाई बडी क्यामेरा उपलब्ध गराइने बताइएको छ।
फागुन ४, २०८२ सोमबार १४:१८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।