घरजग्गा कारोबार सुस्त, माघमा घट्यो मालपोत राजस्व

घरजग्गा कारोबार सुस्त, माघमा घट्यो मालपोत राजस्व

काठमाडाैं : घरजग्गा कारोबार सुस्त बन्दा गत पुसको तुलनामा माघ महिनामा मालपोत राजस्व घटेकाे छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरूबाट माघ महिनामा कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

पुस महिनामा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो।

देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबारमा अझै पनि अपेक्षित रूपमा सुधार आउन सकेको छैन। 

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही  वृद्धि भएको छ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार चार सय ८८, रजिस्ट्रेसन  दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार पाँच सय ३२ सङ्कलन भएको थियो। त्यसैगरी, पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार दुई सय ६७ सङ्कलन भएको विभागले जनाएको छ।

फागुन ४, २०८२ सोमबार १३:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।