रुपन्देही-३ का जसपा उम्मेदवार एमाले प्रवेश

रुपन्देही-३ का जसपा उम्मेदवार एमाले प्रवेश

रुपन्देही : रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले जसपा नेपालको साधारण सदस्यसहित पार्टीका सबै जिम्मेवारी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। यादव जसपा नेपालका केन्द्रीय सदस्यसमेत थिए।

विज्ञप्तिमा यादवले अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने देखिएको समेत दाबी गरे।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

रुपन्देहीमा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार रहेका छन्।

फागुन ४, २०८२ सोमबार १२:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।