ओलीको ‘दोहोरो चरित्र’ : सात वर्षअघि आफैँले सुरू गरेको चलनलाई भन्दैछन्- ‘राष्ट्रियतामाथि हमला’
काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सेना दिवसको अवसरमा टुँडिखेलमा भएको अमेरिकी सैन्य ब्यान्डको प्रस्तुतिलाई लिएर कडा आक्रोश पोखे।
झापाको दमकमा शिलापत्रसँग कुरा गर्दै उनले यसलाई ‘सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच’ र ‘नेपालको राष्ट्रियतामाथि गम्भीर हमला’ भएको दाबी गरे।
तर, रोचक तथ्य के छ भने, सेना दिवसको अवसरमा विदेशी सैन्य टोलीलाई टुँडिखेलमा उतार्ने र साङ्गीतिक प्रदर्शन गराउने परम्पराको जग उनै ओली प्रधानमन्त्री भएको बेला वि.सं. २०७५ सालमा बसेको थियो।
२०७५ मा ‘सद्भाव’, २०८२ मा ‘हस्तक्षेप’?
२०७५ साल फागुनमा महाशिवरात्रि तथा सेना दिवसकै अवसरमा नेपाली सेनाले पहिलो पटक ‘अन्तर्राष्ट्रिय सैनिक साङ्गीतिक सम्मेलन’ आयोजना गरेको थियो। त्यतिबेला केपी शर्मा ओली नै देशको प्रधानमन्त्री थिए।
उक्त सम्मेलनमा नेपालसहित अमेरिका, भारत र संयुक्त अधिराज्य (बेलायत)का सैन्य ब्यान्डहरूले टुँडिखेल र जङ्गी अड्डामा आफ्नो प्रस्तुति दिएका थिए। त्यतिबेला सरकारले यसलाई ‘मित्रराष्ट्रहरूसँगको सैन्य कुटनीति र सम्बन्ध विस्तार’को रूपमा गौरवका साथ प्रचार गरेको थियो।
तर, अहिले सत्ता बाहिर रहँदा उनै ओलीले यसै कार्यक्रमलाई ‘सांस्कृतिक मूल्यमान्यतामाथिको हस्तक्षेप’को संज्ञा दिएका छन्।
अध्यक्ष ओलीले विदेशी सेनाको उपस्थितिलाई ‘नाङ्गो नाच’ भने पनि टुँडिखेलमा कुनै सैन्य अपरेशन वा युद्ध अभ्यास नभएको सेनाले जनाएको छ। सेनाले जारी गरेको विज्ञप्तिमा यसलाई कुनै विदेशी सेनाको शक्ति प्रदर्शन नभई मित्रराष्ट्रहरूबीचको सफ्ट पावर र साङ्गीतिक सद्भावको प्रदर्शन मात्र भएको दाबी गरेको छ।
ओलीले ‘कुनै एउटा मात्र राष्ट्रको सेना किन ल्याइयो?’ भनी प्रश्न गरेका छन्। तर वास्तविकतामा यस वर्ष पनि अमेरिकी सेना मात्र होइन, भारतीय र बेलायती सेनाका टोलीहरू पनि सहभागी थिए। २०७५ सालमा पनि यी तीनै देशका टोलीलाई ओली सरकारकै पालामा आमन्त्रण गरिएको थियो।
२०७५ सालमा भएको सहभागिता सेना दिवसलाई अझ भव्य बनाउन एक पटकका लागि आयोजना गरिएको जस्तो देखिन्थ्यो। त्यसपछिका केही वर्ष कोरोना महामारीका कारण यो क्रम नियमित हुन सकेन। तर, सन् २०२४ देखि यसलाई एउटा नियमित परम्परा झैँ हरेक वर्ष समावेश गर्न थालिएको छ।
२०८० को सेना दिवस हुँदा पुष्पकमल दाहाल प्रधानमन्त्री थिए भने २०८१ सालमा केपी शर्मा ओली आफैँ प्रधानमन्त्रीको रूपमा थिए।
फागुन ४, २०८२ सोमबार १२:५४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।