भारतसँग हारका बावजुद विश्वकपमा पाकिस्तानले बनायो अनौठो कीर्तिमान
काठमाडौं : जारी टी-२० विश्वकपमा भारतसँग ६१ रनको हारका बावजुद पाकिस्तानले अनौठो कीर्तिमान बनाएको छ।
टी-२० विश्वकपको इतिहासमा पहिलो पटक पाकिस्तानले एकै खेलमा ६ जना स्पिनरको प्रयोग गरेको हो। विश्वकपको कुनै पनि खेलमा ६ जना स्पिनरसँग बलिङ गराउने पाकिस्तान पहिलो टोली बनेको छ।
पाकिस्तानले भारतविरुद्धको यस खेलमा कुल १८ ओभर स्पिनरमार्फत बलिङ गराएको थियो।
सधैँ तीव्र गतिका बलर (पेसर) हरूको वर्चस्व रहने पाकिस्तानी टोलीले यस खेलमा मात्र दुई ओभर फास्ट बलिङ गराएको थियो। टोलीका प्रमुख बलर शाहीन शाह अफ्रिदीले २ ओभर बलिङ गरे पनि उनी निकै महँगो सावित भए।
यसअघि पाकिस्तानले सन् २०१२ अक्टोबर २ मा कोलम्बोकै मैदानमा अस्ट्रेलिया विरुद्धको खेलमा १८ ओभर स्पिनरबाट बलिङ गराएको इतिहास थियो।
त्यतिबेला तीव्र गतिका बलर उमर गुलले २ ओभर बलिङ गरेका थिए र उक्त खेलमा पाकिस्तान विजयी भएको थियो। तर, यसपटक भारतविरुद्धको खेलमा भने ६ स्पिनरको रणनीति सफल हुन सकेन।
जितसँगै भारतीय टोली जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएको छ।
फागुन ४, २०८२ सोमबार ०७:४२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।