प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार-प्रसार सुरू
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार-प्रसार गर्न पाउने भएका छन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाउने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार आजदेखि आगामी फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरूले मतदातासमक्ष पुगेर मत माग्न सक्नेछन्।
आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोगले विभिन्न अनुगमन संयन्त्र परिचालन गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले 'शून्य सहनशीलता'को नीति लिएको छ।
उल्लङ्घनकर्तालाई स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्नेदेखि कसुरको गम्भीरता हेरेर उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
सबै राजनीतिक दलहरूले आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धता जनाइसकेकाले कानुनी कारबाहीको अवस्था नआउनेमा आयोगले विश्वास व्यक्त गरेको छ।
दल र उम्मेदवारले तोकिएको मापदण्ड पालना गरी पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचारप्रसार गर्न सक्नेछन्।
आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवार आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने गरी सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन आयोगले पूर्ण निषेध गरेको छ।
निहित राजनीतिक स्वार्थका लागि सङ्गठित रूपमा यस्ता गतिविधि गरेमा कडा कारबाही गरिने आयोगको चेतावनी छ।
फागुन ४, २०८२ सोमबार ०७:१३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।