टी-२० वर्ल्ड कपमा भारतले पाकिस्तानलाई ६१ रनले हरायो
काठमाडौं : आइसिसी टी-२० वर्ल्ड कपको भारत-पाकिस्तानबीचको प्रतिस्पर्धामा भारतले ६१ रनले खेल जितेको छ। भारतले दिएको १७६ रनको लक्ष्य पुरा गर्न ब्याटिङमा आएको पाकिस्तानले पुरा २० ओभर समेत खेल्न सकेन। पाकिस्तानका खेलाडीहरू १८ ओभरमा सबै विकेट गुमाएर जम्मा ११४ रन बनाएका थिए।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा पाकिस्तानलाई हराए लगत्तै भारत प्रतियोगिताको ‘सुपर ८’ मा प्रवेश गरेको छ। पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो।
उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ बनाएको थियो। भारतको लागि ४० बलमा ७७ रन बनाएका थिए।कप्तान सूर्यकुमार यादवले ३२ रन र तिलक वर्माले २५ रन बनाएका थिए। पाकिस्तानको तर्फबाट साइम अयुबले३ विकेट लिएका थिए।
१७६ रनको लक्ष्य पुरा गर्न मैदानमा आएको पाकिस्तानका ब्याटर टिक्न सकेनन्। पाकिस्तानका लागि उस्मान खानले ४४ रन बनाए। बाबर आजम ५ रन र कप्तान सलमान अली आगा ४ रनमै आउट भएका थिए।
भारतको जितमा जसप्रित बुमराह महत्वपूर्ण बने। उनले २ विकेट लिए। वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट लिएका थिए भने हार्दिक पाण्ड्याले पनि २ विकेट लिए। कुलदीप यादव र तिलक वर्माले १–१ विकेट लिएका थिए।
अब भारतले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिष्पर्धा गर्नेछ। पाकिस्तानले अन्तिम खेल नामिबियासँग खेल्नेछ। आइतबारको जितसँगै भारत सुपर आठमा प्रवेश गरेको छ भने सुपर आठमा पुग्न पाकिस्तानले नामिबियालाई हराउनु पर्नेछ।
फागुन ३, २०८२ आइतबार २२:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।