रेखा थापाको फिल्ममा तीन 'मिस नेपाल' एकैसाथ
काठमाडौँ : नायिका तथा निर्देशक रेखा थापाले तीन जना मिस नेपाललाई लिएर आफ्नो निर्देशनमा 'माया भनेको यस्तो होला' फिल्म निर्माणको घोषणा गरिन्। महाशिवरात्रिको अवसर पारेर दिया र अमु फिल्म्सको ब्यानरमा फिल्म निर्माणको घोषणा भएको हो।
फिल्ममा पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा देखिनेछन्। रेखाले आफ्नै ब्यानर (रेखा फिल्म्स) बाट फिल्म निर्देशन गर्ने गरेकी थिइन्। यसअघि उनले 'हिम्मतवाली' र 'मालिका' जस्ता चलचित्र आफ्नै ब्यानरमा निर्देशन गरेकी थिइन्।
तीन जना मिस नेपाललाई एकैसाथ लिनुको कारणबारे निर्देशक थापाले चलचित्रको कथाले मागेका कारण लिएको दाबी गरिन्।
यस चलचित्रका नायक दिल श्रेष्ठ हुन्। यस अगाडि उनको 'पर्खी राख है' फिल्म रिलिज भएको थियो। नयाँ फिल्ममा सृष्टि, नम्रता, नीति र दिलका साथै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय रहनेछ।
फागुन ३, २०८२ आइतबार १७:३६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।