दुर्घटनामा परेको स्करपियोको उद्धारमा जाँदा भेटियो ४ सय २० किलो गाँजा

दुर्घटनामा परेको स्करपियोको उद्धारमा जाँदा भेटियो ४ सय २० किलो गाँजा

विराटनगर : तीव्र गतिमा गुडेको एक स्करपियो दुर्घटनामा पर्यो। दुर्घटनाको जानकारी पाए लगत्तै उद्धारका लागि घटनास्थलमा प्रहरी पुग्दा भने छक्कै पर्यो। स्करपियोमा कोही थिएनन्। तर कालो प्लास्टिकले केही बेरेका सामान थिए। प्रहरीले प्लास्टिक च्यातेर हेर्दा त्यसमा गाँजा भेटियो जसको तौल निस्कियो ४ सय २० किलो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार आइतबार बिहान विराटनगर महानगरपालिका-५ को पुलचोकमा बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडी दुर्घटनामा परेको थियो। स्करपियो भित्री सडक खण्ड हुँदै तीव्र गतिमा भारततिर जाँदै थियो। स्कोरपिओ अचानक सडक छेउको खाल्डोमा खसेको थियो।

दुर्घटनामा परेको स्कोरपिओको सिट र डिक्कीको भागमा प्लास्टिकले बेरेर गाँजा राखिएको थियो। प्रहरीले सो गाँजा तस्करहरूले शिवरात्रिका लागि भारत लैजाने प्रयास गरेको तर दुर्घटनाका कारण असफल भएको अनुमान गरेका छन्।

फागुन ३, २०८२ आइतबार १५:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।