रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा : रौतहटको दुर्गाभगवती गाउँपालिका-४ स्थित गौर-गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा  मृत्यु भएको छ। 

गङ्गापिपराबाट गौर आइरहेको बिआर३०यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका-४ सरुअठा बस्ने २२ वर्षे पुनमदेवी साहको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवै जनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो।

प्रहरीका अनुसार चालक जितेन्द्र साहको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो। त्यस्तै, पछाडि बस्ने पुनमदेवीको पनि टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

फागुन ३, २०८२ आइतबार १०:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।